विश्वकपमा पुग्न आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र युएई भिड्दैछन् ।  मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।

आजको खेलमा दुवै टोलीलाई जितको विकल्प छैन । आजको खेलमा जित निकाल्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् । नेपाल समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको समूहचरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएसँगै नेपालले समूह उपविजेतामा चित्त बुझाएको हो । यसअघि नेपालले समूहचरणमा मलेसिया र सिंगापुरलाई हराएको थियो । नेपालले आज पहिलोपटक छनोटको खेल मुलपानीमा खेल्न लागेको हो । यसअघिको सबै खेल नेपालले टियु मैदानमा खेलेको थियो ।

यता युएईले भने छनोटको सबै खेल मुलपानीमा खेलेको छ । त्यसैले यस मैदानमा नेपाल भन्दा युएई बढि अभ्यस्त हुन सक्छ । समूहचरणको सबै खेलमा सतप्रतिशत जित निकालेको युएई आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

आज नेपाल बदला लिने लक्ष्यसाथ मदान उत्रिनेछ । यसअघि सन् २०२२ को छनोटमा युएईसँग सेमिफाइनलमा ६८ रनले पराजीत भएसँगै नेपाल विश्वकप खेल्नबाट वन्चित भएको थियो । यसअघि नेपाल एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईलाईनै पराजित गर्दै पहिलोपटक एसीसी एसिया कपमा छनोट भएको थियो ।

युएईले आफ्नो पछिल्लो ५ खेलमा ४ जीत र एक हारको नतिजा निकाल्दा नेपालले तीन जीत र दुई हारको नतिजा निकालेको छ । युएईले गत हप्ता सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो । दुई टोलीबीच भएको ८ भेटमा नेपालले चार खेल जित्दा चार खेलमा पराजीत भएको छ ।

यस्तै आजै हुने पहिलो सेमिफाइनल खेलमा ओमान र बहराइन भिड्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *