अब फेरि कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगर्दा हुन्छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद अवरोध गरेर पोखेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष नेपालले एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर नहुने बताएका हुन् । उनले सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने बताए ।

उनले भने, ‘सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गर्ने होइन। त्यसले जनतालाई असर गर्छ। त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ। पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ ।’

उनले नयाँ दलले पुराना दलमाथि विभिन्न आरोप लगाएको भन्दै विकल्प दिन आग्रह गरे । उनले भने, ‘देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो ? यदि, प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुस् राजनीतिमा, विकल्प दिनुस् । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् ।’

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिए । उनले भने, ‘अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुस् । कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *