सरकारलाई एमालेको चुनौतीः फागुन एक गते जनयुद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव सदनमा पेस गरोस्, अनि पास गरेर देखाओस्

काठमाडौं । नेकपा एमालेले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको निर्णय कुनै दृष्टिकोणले सही नभएको बताएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकारलाई हिम्मत भए संसदमा ल्याएर बिदा दिने विषय पारित गरेर देखाउन चुनौती दिए ।

उनले भने, ‘फागुन १ गते युद्ध दिवस मनाउन ठिक लाग्छ भने म सरकारलाई चुनौतीसाथ भन्छु, दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव सदनमा पेस गरोस्, अनि पास गरेर देखाओस् । जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस् ।’

पौडेलले संसद्को चालु अधिवेशन प्रभावकारी नभएको टिप्पणी गरे । उनले भने, ‘सदनको कामकारवाही प्रभावकारी नहुनुमा सरकार जिम्मेवार छ। सरकारको दृष्टिकोण जिम्मेवार छ,’उनले भने,’सरकारका गतिविधिहरू जिम्मेवारी छन्।’

उनले प्रधानमन्त्री विदेश भ्रमणमा गएका बेला समेत सरकारले सदन बन्द गर्ने अभ्यास चलाएको भन्दै त्यसको विरोध गरे । भ्रष्टाचार, सशासन र प्रभावकारी सेवा, महंगी नियन्त्रण, शान्ति सुरक्षा र राष्ट्र हितलगायत विषयमा निरन्तर आवजा उठाए पनि सरकारले सुन्ने र सम्बोधन गर्ने काम नगरेको उनको भनाइ छ।

उनले सरकारले सांसदले उठाएका विषयको जवाफ दिन समेत आवश्यक नठानेको बताए । उनले पछिल्लो समय नेपाल तस्करीको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा बदनाम भएको बताए । दैनिक क्वीन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकार अपराधीलाई दण्डित गर्न तयार नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *