रामहरिबाट रविले कस्तो जवाफ पाउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बैठकमा सहभागी भएका नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी त्यसपछि सभामुखको निर्वाचनको समयमा प्रतिनिधिसभामा पुगेका थिए । बैठकमा पुगेकोमा नेपाली कांग्रेसले गम्भीर रुपमा प्रश्न उठाएपछि उनी त्यहाँबाट निस्केर हिँडेका थिए । त्यसपछि उनी फरार नै छन् । गृहमन्त्री रवि लामिछानेले कोइरी पक्राउ गर्न वेवास्ता गरेको आरोप पनि लाग्यो । यसबारेमा त्यतिबेला जवाफ माग्दा तत्कालीन गृृहमन्त्री लामिछाने नाजवाफ भएको थिए । तर गृहमन्त्रीबाट हटेर सांसद मात्र सीमित भएका लामिछानेले नौ महिनापछि कोइरीको खोजी गरेका छन् । बुधबारको संसदको राज्य व्यवस्था समितिको बैठकमा लामिछानेले कोइरीको खोजी गरेका हुन् । उनले समितिका सभापति रामहरि खतिवडालाई कोइरी पक्राउ गरेको खै ? भन्दै प्रश्न गरेका हुन् । उनको प्रश्न थियो, ‘म सभापतिज्यूलाई एउटा प्रश्न गर्न चाहन्छु, अहिले तपाईँहरूको सरकार छ, लक्ष्मी महतो कोइरी खोइ ?’ समिति सभापति खतिवडाले यसबारेमा तत्काल जवाफ नदिने र अर्को बैठकमा जवाफ दिने बताएका छन् ।

नौ महिना अघि माघमा लामिछाने गृहमन्त्री हुँदा खतिवडाले कोइरी पक्राउ नगरेको भन्दै लामिछानेको संसदमै आलोचना गरेका थिए । माघ ८ गतेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले कोइरीलाई लक्षित गरेर नियमापत्ति जनाएका थिए। सभामुखको निर्वाचन हुनुपूर्व अध्यक्षता गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग समय लिएर बोलेका खतिवडाले यो विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई समेत कटाक्ष गरेका थिए । खतिवडाले संसद बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए । उनले फरार रहेका मानिस संसदमा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिएका थिए उनले भनेका थिए, ‘फरार मानिस संसदा हुनुहुन्छ, पक्राउ गर्नुस् भन्नुभयो । गृह मन्त्रालय विधि र पद्धतिबाहिर एक कदम निस्कँदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ।’

कोइरीलाई पक्राउ नगरेको भन्दै सर्वत्र आलोचना भएपछि गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर प्रहरीले पक्राउ नगरेको प्रति असन्तुष्टि जनायो । मन्त्रालयको विज्ञप्तिमा भनिएको थियो, ‘लक्ष्मी महतो कोइरीलाई कानून बमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

यो बीचमा नागरिकता विवादका कारण लामिछानेको सांसद पद गयो । त्यसपछि चितवनमा उपनिर्वाचन भयो र लामिछाने फेरि सांसद निर्वाचित भएर आए । उनी दोस्रो पटक निर्वाचित भएर आएपछि भने कोइरीकाबारेमा बोली फेरियो । वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले अस्वस्थताका कारण संसदका १० वटा भन्दा बढी बैठकमा अनुपस्थित रहेका सांसदहरुमा कोइरीको नाम लिएपछि विवाद भयो । लामिछानेले कोइरीलाई अस्वस्थ भनिएको सभामुखको प्रस्ताव नै रेकर्डबाट हटाउन माग गरे । उनले भने, ‘यो मेरा लागि पेचिलो विषय हो । यसलाई लिएर धेरै आलोचना खेपेको छु । गृहमन्त्री भएका बेला फरार अभियुक्तका रुपमा खोजी गरेका थियौं । खोजी गर्दा उनको सालोले भागेर भारतमा रहेको भनेर मलाई तस्बिर पठाएका थिए । उहाँ फरार अभियुक्त हो । एउटा फरार अभियुक्तलाई बिरामी करार गर्ने हो भने लोकतन्त्रका लागि योभन्दा मजाक केही हुँदैन ।’

त्यसपछि गत वैशाख १९ गते प्रतिनिधिसभा सदस्य कोइरी निलम्बनमा परे । महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै चुनाव जितेका कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका नेपाल प्रहरीका घाइते सई थमन विश्वकर्माको हत्या गरेको आरोप छ । कोइरीलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ । अहिले उनी कहाँ छन् भन्ने विषयमा गृह मन्त्रालय पनि अनभिज्ञ छ । सुरुमा धनुषा जिल्ला अदालतले १० लाख धरौटीमा उनलाई छोडेको थियो । तर उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै कोइरीलाई थुनामा राख्ने आदेश दिएको छ । यदि रविले चाहेको भए गृहमन्त्री भएका बेला कोइरीलाई पक्राउ गर्न सक्थे । तर सत्ता समीकरणका लागि उनी लाचार भएर विधि र पद्दतिको कुरा सिकाउँदै मात्र हिँडे । तर जब उनको पद गयो, त्यसपछि भने उग्ररुपमा कोइरी पक्राउ नगरिएकोप्रति आपत्ति जनाउँदै आएका छन् । रविले त गृहमन्त्री हुँदा आलटाल गरी जवाफ दिएका थिए । तर राज्य व्यवस्था समितिका सभापति खतिवडाले चाहिँ यसबारेमा रविलाई के भनेर जवाफ देलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *