उत्तर कोरियासम्बन्धी वार्ताका लागि ब्लिङ्केन सोल जाने

 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्नुहुने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।

विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने भ्रमणका क्रममा सोल पुग्नेछन् । सन् २०२१ मार्च यता यो उनको पहिलो दक्षिण कोरिया भ्रमण हुनेछ । उनले दक्षिण कोरियाली समकक्षी पार्क जिनसँग गठबन्धन, उत्तर कोरियाका मुद्दा, आर्थिक सुरक्षा र उन्नत प्रविधिका साथै क्षेत्रीय र वैश्विक परिस्थितिका विषयमा व्यापक छलफल गर्नुहुने मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

“विदेशमन्त्री ब्लिङ्केनको भ्रमणले दक्षिण कोरिया–अमेरिका गठबन्धनलाई थप विकास गर्न महत्वपूर्ण अवसर प्राप्त हुने अपेक्षा गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

यो वर्ष प्योङयाङ हतियार परीक्षणको रेकर्ड–ब्रेक शृङ्खलामा संलग्न रहँदा सोल र वासिङ्टनले रक्षा सहयोगलाई बढाउँदै आएको समयमा विदेशमन्त्री ब्लिङ्केनको सोल भ्रमण हुँदैछ ।

गत महिना आणविक सञ्चालित विमानवाहक युएसएस रोनाल्ड रेगनले दक्षिण कोरियाली बन्दरगाहको यात्रा गरेको एक सातापछि एउटा अमेरिकी आणविक–हतियार सक्षम बी–५२ ले दक्षिण कोरियामा दुर्लभ अवतरण गरेको थियो । उत्तर कोरिया रुसको निकट हुँदै गरेको समयमा यो भ्रमण हुन लागेको हो । प्योङयाङले युक्रेनमा युद्धका लागि मस्कोलाई हतियार उपलब्ध गराइरहको पश्चिमी मुलुकहरूलाई चिन्ता छ ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गरेका थिए । त्यसपछि अर्को महिना रुसका विदेशमन्त्री सर्गेई लाभरोभले प्योङयाङको भ्रमण गरेका थिए ।

प्योङयाङले रुससँग स्याटेलाइट टेक्नोलोजी र सोभियत युगको सैन्य उपकरणहरूको स्तरवृद्धि गर्नेजस्ता धेरै प्रकारका सैन्य सहयोग मागिरहेको वासिङ्टन र विशेषज्ञहरूले बताएका छन् । उत्तर कोरिया यो वर्ष सैन्य जासुसी उपग्रहलाई अन्तरिक्षमा स्थापना गर्ने प्रयासमा दुई पटक असफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *