लडाइँ टुंगिएपछि कसले गर्ला गाजामा शासन ?

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले ‘मध्यपूर्वलाई नै बदलिदिने’ बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडनले ‘अब फर्किने कुरै नभएको’ टिप्पणी गरेका छन् । तर इजरायली सेनाले गाजा स्ट्रिपमा हमलालाई अझ सघन बनाउँदै गर्दा र प्यालेस्टिनीहरूलाई आफ्नो बाटोमा नआउन चेतावनी दिँदै गर्दा यो लडाइँ कता जाँदै छ ? अनि अब यसपछि के हुन्छ ? अक्टोबर ७ को घटनापछि इजरायली अधिकारीहरूले हमासलाई गाजा स्ट्रिपबाट सैनिक तथा राजनीतिक दुवै क्षेत्रबाट निर्मूल पार्ने आफ्नो चाहना भएको बताएका छन् ।

तर निरन्तर ठूलो स्तरको सैन्य बलको प्रयोगभन्दा पर उनीहरूले आफ्नो त्यस्तो अभूतपूर्व चाहनालाई कसरी हासिल गर्लान् भन्ने स्पष्ट भएको छैन । तेल अभिभ विश्वविद्यालयस्थित मोशे डायान केन्द्रको प्यालेस्टिनी अध्ययन मञ्चका प्रमुख डा माइकल मिल्शटाइन भन्छन्, ‘त्यस्तो ऐतिहासिक कदममा युद्ध अन्त्य भएको भोलिपल्टदेखि के गर्ने भन्ने योजना नबनाईकन अघि बढ्न सकिँदैन।’ इजरायलको सैन्य गुप्तचर निकायमा प्यालेस्टिनी मामिलाका भूतपूर्व प्रमुख पनि रहेका डा मिल्शटाइनले त्यस्तो योजना बनाउन सुरु पनि नगरिएको आशङ्का व्यक्त गरेका छन् । ‘त्यो अहिले नै गरिनुपर्छ,’ उनी भन्छन् । पश्चिमा कूटनीतिज्ञहरूका अनुसार उनीहरूले भविष्यका बारेमा इजरेलसँग गहन वार्ताहरू गरेका छन् तर हालसम्म केही पनि स्पष्ट भएको छैन । ‘कुनै निश्चित योजना बनेकै छैन’, एक कूटनीतिज्ञले भने ।

‘कागजमा केही विचारहरू यसो केही टिपोट गर्न त सकिएला तर योजनालाई वास्तविक स्वरूप दिनका लागि हप्तौँ, महिनौँको कूटनीतिक अभ्यास चाहिन्छ।’ सैन्य योजना छ। त्यसमा हमासको सैन्य क्षमतालाई कमजोर बनाउनेदेखि लिएर गाजा स्ट्रिपको ठूलो भागलाई नियन्त्रणमा लिनेसम्मका कुरा छन्। तर पहिलेका यस्ता सङ्कटहरूमा काम गरेको लामो अनुभव भएकाहरू योजना त्योभन्दा अगाडि बढ्न नसक्ने बताउँछन् । ‘हामीले त्यहाँबाट आफ्ना सैनिकहरू फिर्ता ल्याएको एक दिनपछि नै सक्रिय हुन सक्ने कुनै समाधान उपलब्ध छ भन्ने मलाई लाग्दैन,’ हाइम तोमेर भन्छन्। उनी इजरायलको वैदेशिक गुप्तचर निकाय मोसादका भूतपूर्व वरिष्ठ अधिकारी हुन् ।

के हमास पराजित होला?
हमासलाई पराजित गर्नुपर्छ भन्नेमा सबै इजरेलीहरूको एक मत छ। धेरै मानिसहरूको ज्यान जाने गरी अक्टोबर ७ मा भएको हमलापछि त्यस्तो हमला गर्ने सङ्गठनले गाजामा फेरि शासन सञ्चालन गर्न नसक्ला । तर डा मिल्शटाइन हमास भनेको एउटा विचार भएको र त्यो इजरायलले सजिलै मेटेर मेट्न सक्ने कुरा नभएको ठान्छन् । ‘त्यो सन् १९४५ को बर्लिनको जस्तो अवस्था होइन की राइखस्टागमा एउटा झण्डा गाड्यो अनि सबै कुराको अन्त्य भयो।’ उनी यो घटनाको उपयुक्त तुलना सन् २००३ को इराकसँग हुन सक्ने ठान्छन् । त्यहाँ अमेरिकी नेतृत्वको सेनाले सद्दाम हुसेनको शासनका सबै अवशेषहरूलाई मेटाउने प्रयास गरेको थियो। त्यसलाई ‘बाथीकरणबाट मुक्ति’भनिएको थियो तर त्यो ठूलो दुर्घटना सावित भयो ।

त्यस्तो कदमले लाखौँ इराकी सरकारी कर्मचारीहरू र सैनिकहरूलाई बेरोजगार बनाइदिएको थियो र त्यसपछि झन् विनाशकारी विद्रोहको बीउ रोपिन पुगेको थियो । त्यो युद्धमा सहभागी भएका अमेरिकीहरू अहिले इजरायलमा छन् र फलुजा र मोसुलजस्ता स्थानमा आफूले प्राप्त गरेको अनुभवबारे इजरायली सेनासँग कुरा गरिरहेका छन् । डा मिल्शटाइन भन्छन्, ‘उनीहरूले इराकमा आफूबाट ठूला गल्तीहरू भएको भनेर इजरायलीहरूलाई बताउलान् भन्ने मेरो आशा छ।’ ‘उदाहरणका लागि, सत्ताधारी पार्टीलाई निर्मूल बनाउने वा त्यहाँका जनताको सोचमा परिवर्तन ल्याइदिने जस्ता भ्रमहरूका बारे। किनकि त्यस्तो हुने छैन।’
प्यालेस्टिनीहरू के भन्छन् ?
प्यालेस्टिनीहरू यो कुरासँग सहमत छन् । प्यालेस्टिनी नेशनल इनिशटिभका अध्यक्ष मुस्तफा बारगुटी भन्छन्, ‘हमास तल्लो स्तरसम्म लोकप्रियता भएको सङ्गठन हो।’ ‘यदि उनीहरू हमासलाई हटाउन चाहन्छन् भने उनीहरूले सम्पूर्ण गाजाको जातीय सफाया गर्नुपर्ने हुन्छ।’ इजरायलले लाखौँ प्यालेस्टिनीहरूलाई गाजा स्ट्रिपबाट जबर्जस्ती हटाएर इजिप्ट पठाउने गोप्य चाहना राखेको छ भन्ने सोचले प्यालेस्टिनीहरूलाई गहिरो त्रासमा पार्ने गरेको छ ।

इजरायलको स्थापना हुँदा भागेका वा आफ्ना घरहरूबाट धपाइएपछि शरणार्थी हुनुपरेका धेरै मानिसहरूबाट बनेको उक्त समुदायका लागि अर्को सामूहिक पलायनको सोचले मात्रै पनि सन् १९४८ मा भोग्नुपरेको दुःखद सम्झना बल्झाइदिने गर्छ । ‘भागेर जानु भनेको एकतर्फी टिकट काटेर कतै गए जस्तो हो,’ डायना बुट्टु भन्छिन्। उनी प्यालेस्टिनी मुक्ति सङ्गठन पीएलओकी भूतपूर्व प्रवक्ता हुन्। ‘त्यसको अर्थ फेरि फर्केर आउन पाइन्छ भन्ने होइन।’

इजिप्टको चर्चा किन ?
भूतपूर्व वरिष्ठ अधिकारीहरूसहित इजरायली टिप्पणीकारहरूले प्यालेस्टिनीहरूलाई अस्थायी रूपमा सीमापारि साइनाईमा राखिनु आवश्यक भएको नियमित रूपमै बताउने गरेका छन्।

इजरायलको राष्ट्रिय सुरक्षा परिषद्का भूतपूर्व प्रमुख गिओरा एइल्यान्ड धेरै निरपराध प्यालेस्टिनीहरूको ज्यान नलिईकन इजरायलले गाजामा आफ्ना सैन्य उद्देश्यहरू हासिल गर्ने एकमात्र उपाय भनेको गैरसैनिकहरूलाई गाजाबाट अन्यत्र पठाउनु नै भएको ठान्छन् । ‘उनीहरू सीमा पार गरेर इजिप्ट जानुपर्छ,’ उनी भन्छन्।

‘चाहे त्यो अस्थायी रूपमा होस् वा स्थायी रूपमा।’ प्यालेस्टिनीहरूको त्रासलाई अमेरिकी राष्ट्रपति जो बाइडनले अक्टोबर २०मा इजरायल र युक्रेनलाई आर्थिक सहायता दिने प्रस्ताव अनुमोदन गर्न कङ्ग्रेससमक्ष गरेको अनुरोधमा परेको एउटा वाक्यले बढाइदिएको छ । त्यसमा भनिएको छः ‘यो सङ्कटको नतिजा सीमापारि मानिसहरूको विस्थापन र चर्को क्षेत्रीय मानवीय राहतको आवश्यकता पनि हुन सक्छ।’ अहिलेको मितिसम्म इजरायलले आफूले प्यालेस्टिनीहरूले सीमा पार गरेर जाऊन् भन्ने चाहेको भनेर बताएको छैन। इजरायली डिफेन्स फोर्सले बारम्बार गैरसैनिकहरूलाई दक्षिणतर्फका र स्पष्ट नतोकिएका ‘सुरक्षित क्षेत्रहरूमा’ जान भनिरहेको छ । तर इजिप्टका राष्ट्रपति अब्देल फत्तह अल–सिसीले गाजामा इजरायलको युद्ध ‘त्यहाँका गैरसैनिक बासिन्दालाई धपाउने…. र इजिप्टमा बसाइँ सर्न दबाव दिने प्रयास’ हुन सक्ने कुरा सावधान गराउँदै भनेका छन्।

गाजामा कसले शासन गर्ला ? 
यो लडाइँको अन्त्य हुँदा गाजा स्ट्रिपमा गाजावासीहरू बाँकी रहने छन् भनेर मान्ने हो भने उनीहरूलाई कसले शासन गर्छ त भन्ने प्रश्न उठ्छ । ‘त्यो निकै ठूलो प्रश्न हो,’ डा मिल्शटाइन भन्छन्। निकै महत्वपूर्ण प्रश्न । त्यहाँ एउटा नयाँ प्रशासन स्थापना गर्न इजरायलले सहयोग गर्नुपर्ने उनी ठान्छन् । त्यस्तो प्रशासनको सञ्चालन गाजावासीहरूले नै गर्नुपर्छ र त्यसलाई स्थानीय नेताहरूले स्वीकार गर्नुपर्छ र अमेरिका, इजिप्ट र सम्भवतः साउदी अरबले पनि सहयोग गर्नुपर्छ । त्यस्तो प्रशासनमा प्रतिद्वन्द्वी प्यालेस्टिनी गुट फतहका नेताहरू पनि सहभागी हुनुपर्छ।

फतह समूहलाई सन् २००६ मा निर्वाचनमा विजयी भएपछि हमासले हिंसात्मक रूपमा गाजाबाट निष्काशन गरेको थियो । फतहले अधीनस्थ वेस्ट ब्याङ्कस्थित रमल्लाहमा रहेको प्यालेस्टिनी प्रशासन अर्थात् प्यालेस्टिनिअन अथोरिटी (पीए) ले सञ्चालन गर्छ। तर पीए र त्यसका वयोवृद्ध नेता महमुद अब्बास वेस्ट ब्याङ्क र गाजा स्ट्रिप दुवै स्थानमा प्यालेस्टिनीहरूमाझ अलोकप्रिय छन् । पीएले गाजामा फर्कन पाउने भित्री चाहना राखेको हुन सक्ने तर त्यो ‘इजरायली ट्याङ्कहरूमा चढेर’ भने हुन नसक्ने डायना बुट्टुको धारणा छ।

अनुभवी प्यालेस्टिनी राजनीतिज्ञ तथा सन् १९९० को दशकमा पीएमा छोटो समय काम गरेकी हनान अश्रावी इजरेलसहित बाहिरियाहरूले फेरि पनि प्यालेस्टिनीहरूले कसरी बाँच्नुपर्छ भन्ने कुरा निर्धारण गर्ने सोचप्रति नै आक्रोश व्यक्त गर्छिन् । उनी भन्छिन्, ‘यो एउटा चेस खेल हो र केही प्यादाहरूलाई यताउता चलाएर अन्त्यमा चेकमेट हासिल गर्न सकिन्छ भनेर मानिसहरू सोच्छन्। त्यस्तो हुनेवाला छैन।’ ‘नयाँ साझेदारहरू त फेला पर्लान्,’ उनी भन्छिन्,’तर गाजावासीहरूले त्यसलाई सहज स्वीकार गर्ने छैनन्।’

युद्धविराम किन उपयोगी हुन सक्छ?
अहिलेको जस्तो स्तरमा नभए पनि विगतमा गाजामा युद्धको अवस्था बेहोरेका र समाधानका लागि काम गरेकाहरूमाझ लगभग सबै खालका प्रयासहरू विगतमा नै प्रयोग गरेर हेरिसकिएकोले गहिरो डरको भावना विद्यमान छ । मोसादका भूतपूर्व अधिकारी हाइम तोमेरका अनुसार उनको विचारमा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने प्रयासमा एक महिनाका लागि सैन्य कारबाही स्थगित गर्नु उपयुक्त हुन्छ ।

सन् २०१२ मा गाजामा एक चरणको लडाइँपछि उनी कायरोमा गोप्य वार्ताका लागि मोसादका तात्कालिक निर्देशकसँग गएका थिए र त्यो वार्तापछि युद्धविराम भएको थियो । त्यस बेला इजिप्टका अधिकारीहरूले वार्ताको मध्यस्थता गर्दा हमासका प्रतिनिधिहरू ‘सडकको अर्कोपट्टि’ बसेका थिए र इजिप्टेलीहरूले कहिले इजरायली त कहिले प्यालेस्टिनी पक्षतिर गएर वार्ता सञ्चालन गरेका थिए । ‘यस पटक पनि त्यस्तै खाले संयन्त्रले काम गर्न सक्छ,’ उनी भन्छन्। ‘अनि इजरायलले निश्चित रूपमा चर्को मूल्य चुकाउनुपर्ने हुन्छ।’ ‘हमासका हजारौँ बन्दीहरूलाई मुक्त गर्नुपरे पनि हाम्रा मानिसहरू घर फर्केको म हेर्न चाहन्छु।’ उनी भन्छन्, ‘त्यसपछि इजरायलले पूर्ण स्तरको सैन्य कारबाही चलाउने की दीर्घकालीन युद्धविरामको विकल्पमा जाने भनेर निर्णय गर्न सक्छ।’

पोल एडम्स
बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *