गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुची जेल चलान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ठगी गरेको आरोपमा पक्राउ परेकी सुरुची भुजेल जेल चलान भएकी छन् । पोखराकी भुजेलले महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरि ९० जना भन्दाबढीलाई ठगी गरेकी थिइन् । भुजेललाई जिल्ला अदालत काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

उनले संयुक्त राष्ट्रसंघमार्फत टर्की पठाउने आश्वासन दिएर पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् । भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना पक्राउ गरेको थियो । भूकम्पले क्षतिग्रस्त टर्कीका सहरको पुनर्निर्माणका लागि राष्ट्रसंघमार्फत लैजाने भन्दै सुरुचिलगायतले झुक्याएर ठगी गरेका थिए ।

महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको कामको अफर देखाएर उनीहरूले पैसा उठाएका थिए । ९० जना पीडितले दुई करोड ५९ लाख ७९ हजार पाँच सय रुपैयाँ ठगी गरिएको भन्दै सिआइबीमा जाहेरी दिएका थिए ।

सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनलाई सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको थियो । प्रहरीले सुरुचिका श्रीमान् विनोद श्रेष्ठ तथा भाइ सुजन भुजेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीले जनाएको छ ।

पीडितहरूले दिएको जोहरीअनुसार युएन टर्कीको लेटरप्याटमा राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको अफरलेटर देखाइएको थियो । सोही पत्रका आधारमा विश्वासमा परेर उनीहरूले पैसा बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *