शान्ति प्रक्रिया टुङ्ग्याउन गुटेरेसका सुझाव महत्वपूर्ण छन्ः अध्यक्ष नेपाल

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिएका छन् । संयुक्त बैठकपछि सञ्चारकर्मीसँग नेताहरूले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक रहेको बताएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले महासचिव गुटेरेसले नेपाल भ्रमणका क्रममा महत्वपूर्ण पर्यटकीय क्षेत्र सगरमाथा र अन्नपूर्ण आधार क्षेत्र, पोखरा र लुम्बिनीलाई चयन गर्नुले गुटेरेसको नेपालप्रतिको निकटता झल्किएको उल्लेख गरे ।

“महासचिव गुटेरेसको भ्रमणले नेपालीलाई गौरवान्वित तुल्याएको छ, उहाँको भ्रमणबाट हामी अत्यन्तै खुसी छौँ”, अध्यक्ष नेपालले भने, “शान्तिप्रक्रिया टुङ्ग्याउन उहाँका सुझाव महत्वपूर्ण छन्, यसमा हामी विश्व समुदायको समर्थनको अपेक्षा गर्छौँ ।”

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक सन्देश प्रवाह भएको बताए । उनले भने, “महासचिव गुटेरेसले जलवायु परिर्वतनको असरबाट प्रभावित नेपाललाई सहयोग गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो, उहाँले आफूले संयुक्त राष्ट्रसङ्घबाट समेत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

महासचिव गुटेरेसको नेपाल भ्रमणले विश्वमा नेपालको मान प्रतिष्ठा बढेको नेता कोइरालाको भनाइ छ । सबैलाई न्याय हुने गरी शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन महासचिवले सुझाव दिएको उनले उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकतामा अगाडि बढेको भन्ने महासचिव गुटेरेसको सम्बोधन प्रशंसायोग्य रहेको बताए । जलवायु परिर्वतनबाट नेपाललाई परेको असर कम गर्नका लागि विकसित देशले सहयोग गर्नुपर्छ भन्ने महासचिव गुटेरेसको भनाइ महत्त्वपूर्ण रहेको उनको प्रतिक्रिया थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समयानुकूल नेपालको अवस्थाबारे महासचिव गुटेरेसले चित्रण गरेको उल्लेख गदै उहाँप्रति धन्यवाद व्यक्त गरे । अध्यक्ष केसीले पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, जलवायु परिर्वतनले पारेका असर, गरिबी निवारणलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

उनले कार्बन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्नेमा जोड दिएका थिए ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा नेपालले शान्ति सेनामार्फत गरेको योगदानको उच्च प्रशंसासमेत गरेका थिए । साथै, उनले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *