गणतन्त्र दिवसमा माफी पाएर छुटेका व्यक्ति अपहरण काण्डमा पक्राउ

चितवन । गत जेठमा गणतन्त्र दिवसमा कैद छुट पाएर जेल मुक्त भएका एक व्यक्ति ६ महिना पनि नपुग्दै पुनः पक्राउ परेका छन् । गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरि पक्राउ परेका हुन् । उनलाई असल चालचलन भएको भन्दै कैद छुट गरिएको थियो ।

चितवन प्रहरीले मकवानपुरको हेटौंडा स्थायी घर भई भरतपुर महानगरपालिका ९ बस्ने थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार थापाले अपरिचित नम्बरबाट फोन गर्दै कात्तिक ७ गते भरतपुर महानगरपालिका १ का एक व्यक्तिलाई २५ लाख रुपैयाँ मागेको र नदिए अपहरण गरेर ज्यान लिने धम्की दिएका थिए ।

थापा डाँका मुद्दामा चार वर्ष ६ महिना ३ दिन जेल बसेर गत जेठमा छुटेका थिए । उनी विरुद्ध २०६६ जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

यस्तै, २०६६ असार ३ गते अवैध हतियार देखाई डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो भने २०७३ वैशाख २२ गते प्रहरी बृत सातदोबाटो ललितपुरबाट लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

यस्तै चौथो पटक २०७५ कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । थापालाई चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकोमा गणतन्त्र दिवसमा गत जेठको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय भरतपुर, चितवनबाट बाँकी कैद आम पाएर छुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *