नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने

 

काठमाडौँ ।  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताएका हुन् ।

महासचिव गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताए ।       उनले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने बताए ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । “नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गर्नेछ । अहिले नेपालले अल्पविकसित मुलुकहरुको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्वपूर्ण अर्थ रहन्छ” उनले भने ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्दै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

त्यस्तै जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्रसङ्घले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं । राष्ट्रसङ्घ सहयोग गर्न तयार छ”, गुटेरेसले भने ।

संयुक्त राष्ट्रसङ्घ र नेपालबीच लामो समयदेखिको सम्बन्ध रहेको पनि उनले सो अवसरमा उल्लेख गरे । चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गरेका थिए ।

यसैबीच, सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।      सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *