मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली नेपाल आईसीसी टी-२० विश्वकप-२०२४ एसिया छनोटको सेमिफाइनलमा पुगेको छ । मंगलबार दिउँसो भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल छनोटको सेमिफाइनलमा पुगेको हो ।

जीतको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि कुशल मल्लले अर्धसतक बनाए । मल्लले ३४ बलमा ७ छक्का र २ चौकाको मद्दतमा ६५ रन बनाएका हुन् । यस्तै नेपालको लागि कुशल भुर्तेलले ४३, आसिफ शेखले २४ र सन्दीप जोराले १८ रनको योगदान गरेका हुन् ।

मलेसियाको लागि मुहम्मद अमिरले तीन र पवान्दिप सिंहले एक विकेट लिए ।

यसअघि कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । मलेसियाको लागि ओपनर सयद अजिजले अर्धसतक बनाए । उनले ४९ बलमा ८ चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । यस्तै जुबाइदी जुल्किफ्लेले २४ तथा शर्भिन मुनिन्दी र विजय उन्नीले समान १३-१३ रन बनाए ।

नेपालको लागि अविनाश बोहोराले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक-एक विकेट लिएका छन् ।

जीतसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । अब नेपालले बिहीबार हुने खेलमा ओमानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *