मलेसियाविरुद्ध कुशलको अर्धसतक पूरा

काठमाडौं । आईसीसी टी-२० विश्वकप-२०२४ एसिया छनोट अन्तर्गत मलेसियाविरुद्ध जारी खेलमा नेपालका युवा अलराउण्डर कुशल मल्लले अर्धसतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा  कुशलले टी-२० आई करियरको तेस्रो अर्धसतक पूरा गरेका हुन् ।

कुशलले २५ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ छक्का र एक चौका प्रहार गरे । जीतको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा १४ ओभरको समाप्तिमा ४  विकेटको क्षतिमा १ सय ३४ रन जोडेको छ । हाल कुशल मल्ल ५३ र सन्दीप् जोरा एक रन बनाउँदै क्रिजमा  छन् । यसअघि कुशल भुर्तेल ४३, आसिफ शेख २४ र कप्तान रोहित पौडेल दुई रन बनाउँदै आउट भएका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको हो । मलेसियाको लागि ओपनर सयद अजिजले अर्धसतक बनाए । उनले ४९ बलमा ८ चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । यस्तै जुबाइदी जुल्किफ्लेले २४ तथा शर्भिन मुनिन्दी र विजय उन्नीले समान १३-१३ रन बनाए ।

नेपालको लागि अविनाश बोहोराले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक-एक विकेट लिएका छन् ।

नेपाल आज लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिएको । सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *