विश्वकपमा भारतको लगातार छैटौं जीत

एजेन्सी । एकदिवसीय विश्वकपमा घरेलु टोली भारतले लगातार छैटौं जीत निकालेको छ । आइतबार दिउँसो भएको खेलमा साविक विजेता इंग्ल्याण्डलाई १ सय रनले हराउँदै भारतले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

जीतको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३४.५ ओभरमा १ सय २९ रनमा समेटिएको हो । इंग्ल्याण्डको लागि लिएम लिभिंगस्टोनले सर्वाधिक २७ रन बनाउँदा डेभिड मलान र डेभिड विलिले समान १६-१६ रन बनाए । कुनैपनि ब्याट्सम्यानले क्षमता अनुसार प्रदर्शन गर्न नसक्दा इंग्ल्याण्ड लगातार चौथो हार बेहोर्न बाध्य भएको हो ।

इंग्ल्याण्डलाई सस्तैमा समेट्न भारतको लागि मोहम्मद शामीले ७ ओभरमा २ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राले तीन, कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए ।

यसअघि लखनउमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो। भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । उनले १ सय १ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यस्तै सुर्यकुमार यादवले ४९, केएल राहुलले ३९ र जस्प्रित बुम्राले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

इंग्ल्याण्डको लागि डेभिड विलीले तीन विकेट लिँदा क्रिस वोक्स र अदिल रसिदले दुई दुई तथा मार्क वुडले एक विकेट लिए ।

जीतसँगै भारत ६ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको इंग्ल्याण्ड पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *