टी-२० विश्वकपमा छनोट हुने नेपाललाई सुनौलो अवसर

प्रज्जवल थापा, काठमाडौं । आईसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट सोमबारबाट काठमाडौंमा शुरु हुँदैछ । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल त्यसपछिको तीन संस्करणमा भने छनोट हुन सकेन । नेपाललाई फेरी एक दशकपछि विश्व क्रिकेटको ठुलो स्टेजमा छनोट हुने सुनौलो अवसर जुरेको छ ।

छनोट घरेलु मैदानमै हुने भएकाले नेपाललाई प्लस पोइन्ट रहेको छ । घरेलु दर्शकमाझ नेपाली टोली बलियो रहेको छ । नेपालले यस वर्ष घरेलु मैदानमा मात्र एक खेल हारको छ । टी-२० विश्वकप छनोटको तयारी स्वरूप घरेलु मैदानमा शुक्रबाट सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा नेपाल युएईसँग ४ विकेटले पराजीत भएको थियो ।

लिगचरणको सबै चार खेलमा युएई र हङकङलाई हराएको नेपाल फाइनलमा भने निरह बनेको थियो । तुलात्मक रुपमा ब्याटिङ, बलिंङ र फिल्डीङ सबै पक्षमा क्षमता अनुसारको प्रदर्शन गर्न नसक्दा नेपाल युएईसँग स्तब्ध बन्न पुगेको थियो । लिगचरणको चार खेलमा नचलेका कुशल भुर्तेलले फाइनलमा अर्धसतक हिर्काउँदै टी-२० विश्वकपको लागि तयार रहेको सङ्केत दिएका थिए ।

तस्बिर- क्यान

दुई साता अगाडि सामाजिक सञ्जालमार्फत त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता गराएका टोलीका मुख्य स्पिनर सन्दीप लामिछानेलेपनि छनोटमा पुनरागमन गर्दैछन् । उनको आगमनसँगै नेपालको स्पिन डिपार्टमेन्ट बलियो बन्नेछ । टोलीमा सन्दीपलाई अर्का स्पिनर ललित राजवंशीले मध्यक्रममा साथ दिनेछन् । त्रिकोणात्मक सिरिजमार्फत चोटबाट पुनरागमन गरेका ललित पूर्ण फिट भइसकेका छन् ।

सधैझैँ छनोटमा नेपालको ओपनिङको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखले लिनेछन् । विश्वकपमा स्थान बनाउन कुशल र आसिफले टोलीलाई राम्रो शुरुवात दिन जरुरी रहनेछ । व्यक्तिगत रुपमा दुवै ब्याट्सम्यानले स्कोर बनाएपनि पछिल्लो समय कुशल र आसिफले पहिलो विकेटको लागि सोचेअनुरूप साझेदारी गर्न सकेका छैनन् । यस्तै मध्यक्रममा कप्तान तथा भरपर्दा ब्याट्सम्यान रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्र सिंह एरीले टोलीको रन उकास्नेछन् भने गुलसन झा, सोमपाल कामी र करण केसीमा राम्रो फिनिस दिन सक्ने क्षमता रहेको छ ।

बलिंङतर्फ सोमपाल र करणले नेपाललाई पहिलो पावरप्लेमै उत्कृष्ट शुरुवात दिलाउन जरुरी छ । मध्यक्रममा स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशी तथा गुलसन झा र दीपेन्द्र सिंह एरीले रनको गति रोक्दै विकेट लिएर विपक्षीलाई दबाबमा राख्न सक्नेछन् । यस्तै डेथ ओभरमा अविनाश बोहोराको भूमिका निर्णायक रहनेछ ।

लगातारको सफलताले हैसिएको नेपाली टोलीलाई शुक्रबारको हारले पाठ भने पक्कै सिकाएको छ । टी-२० खेलमा कुनैपनि टोली कोमजोर हुनेछैनन् । कुनै एक ओभरको प्रदर्शनले टोलीको जीतहारको नतिजामा कोल्टो फर्काउन सक्छ । विश्वकपमा छनोट हुन नेपाली टोलीलाई आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन जरुरी रहेको छ । एसिया क्षेत्रको छनोट खेल्ने टोलीमा नेपाल आईसीसी टी-२० आई वरीयताको शीर्ष स्थानमा रहेको छ । नेपाल वरीयताको १६ औं स्थानमा रहेको छ भने अन्य टोलीपनि आसपासमा रहेका छन् ।

अक्टोबर १० देखि ५ नोभम्बरसम्म हुने छनोटमा नेपालसँगै ८ टोलीले सहभागिता जनाउँदैछन् । सहभागी टोलीमा नेपाल, युएई, ओमान, बहराइन, हङकङ, कुवेत, मलेसिया, र सिंगापुर रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, ओमान, मलेसिया र सिंगापुर रहेका छन् भने समूह ‘बी’मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । समूह ‘ए’को सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

तस्बिर- क्यान

सबै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलबाट फाइनलमा पुग्ने दुई टोली आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

छनोटको पहिलो खेलमा नेपालले टियु क्रिकेट मैदानमा सिंगापुरको सामना गर्नेछ । यस्तै दोस्रो खेल ३१ अक्टोबरमा मलेसिया र तेस्रो खेल १ नोभेम्बरमा ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल ३ नोभेम्बर र फाइनल खेल ५ नोभेम्बरमा हुनेछ ।

विश्वकपमा आयोजकको रुपमा अमेरिका र वेस्ट इन्डिज छनोट भइसकेका छन् । अष्ट्रेलियामा भएको पछिल्लो संस्करणको शीर्ष ८ टोलीको रुपमा अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकालेपनि विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् । यस्तै अफगानिस्तान र बंगलादेशले वरीयताको आधार विश्वकपमा छनोट हुँदा आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले छनोटबाट विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *