लेबनानको एक अदालतले आरामदायी कार उत्पादकको पर्याय बनेको निसान कम्पनीका पूर्वप्रमुख कार्लोस घोसनलाई लेबनानस्थित विलासी घरबाट निकाल्न आदेश दिएको छ । सन् २०१९ मा जापानबाट भागेर बेरुतको घरमा बसोबास गरेका घोसनले उक्त फैसलाविरुद्ध अपील गरेका छन् ।
अक्टोबर १६ मा गरिएको फैसलाअनुसार, घोसन र उनकी पत्नीले ‘एक महिनाभित्र घर खाली गर्नुपर्नेछ । लेबनानको राजधानीको अशरफीह क्षेत्रमा गुलाबी पर्खाल भएको उक्त घरको मूल्य करिब एक करोड ९० लाख अमेरिकी डलर रहेको र यो लेबनानी कम्पनी फोनोस इन्भेस्टमेन्टमा दर्ता भएको न्यायिक अधिकारीले बताएका छन् ।
फोनोसले सन् २०१९ मा कानुनी कारबाही सुरु गरेको थियो र घोसनमाथि ‘निजी सम्पत्तिमा अतिक्रमण गरेको र कानुनी आधार बिना घरमा बसेको’ आरोप लगाएको थियो ।
उनलाई अर्को वर्षको अन्त्यमा जापानबाट बाहिर जान नपाउने गरी जमानत दिइएको थियो तर उनी जापानबाट एक अडियो–उपकरण बक्समा लुकेर नाटकीय रूपमा भागेर बेरुतमा आएका थिए ।
उनलाई एक अन्तर्राष्ट्रिय भगौडाका रूपमा हेर्ने गरिएको छ । घोसनले आफूविरुद्ध लगाइएका आरोपहरूको सधैं खण्डन गर्दै आएका छन् भने उनले यसलाई आफूलाई फसाउन रचिएका बनाउटी आरोप भएको बताएका छन् ।