संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको आह्वान गर्दै जारी घटनाक्रमलाई निर्णायक क्षण भएको बताएका छन् । सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै उनले ‘इतिहासले हामी सबैको हेक्का राख्ने’ बताएका छन् ।
युद्ध थप चर्किएसँगै बन्धकहरूको रिहा र गाजामा मानवीय सहायताका लागि लडाइँ रोक्नका लागि वार्ताहरू प्रस्टसँग रोकिएको बताइएको छ । अक्टोबर ७ मा हमासले गरेको हमलामा १ हजार ४ सय मानिसहरू मारिएका थिए ।
उनीहरूले २२९ जनालाई अपहरण गरेर बन्धक बनाएका छन् । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले त्यहाँ पछिल्लो जवाफी हमला सुरु गरेयता सात हजार मानिसहरू मारिएका छन् । इजरायलले गाजामा आफ्ना स्थल फौजहरू हमासलक्षित ‘कारबाहीलाई व्यापक पारिरहेको’ जनाएको छ ।
इजरायली युद्धक विमानहरूले व्यापक हमला गरिरहँदा त्यस क्षेत्रमा ठूला विस्फोटन देखिएका छन् । हमासले उत्तरी गाजामा लडाइहरू भइरहेको जनाएको छ जहाँ इजरायली फौज र ट्याङ्कहरू प्रवेश गरेका जनाइएको छ । तर सैन्य अधिकारीहरूले त्यो नै जमिनतर्फबाट अपेक्षित हमलाको सुरुवात भएको वा नभएकोबारे केही बोलेका छैनन् ।
यसअघि इजरायली सेनाका एकजना प्रवक्ताले गाजा सहरका नागरिकहरूलाई सुरक्षित रहनका लागि दक्षिणतर्फ जान भनेका थिए । राष्ट्रसङ्घको प्यालेस्टाइनका लागि मानवीय सहायता संयोजक ल्यान हस्टिङ्सले ’गाजामा कुनै पनि ठाउँ सुरक्षित नरहेको’ बताएकी छन् ।