मंगोल मुलवासी र चामलको टीका !

मोहन लामा रुम्बा ।
चीनको यांग्त्जे नदीको किनारको गुफामा फेला परेको धान राखेको भाँडाबाट जापानको कोगाकुकान युनिभर्सिटीका वातावरणीय पुरातत्वविद् स्युइची तोयामाद्वारा धानको अवशेषलाई रेडियोकार्बन डाटाको माध्यमबाट विस्तृत अध्यन गरेपछि के पत्ता लाग्यो भने याङ्त्जे नदीको वरिपरिको हुबेई र हुनान प्रान्तहरूमा ११ हजार वर्ष अगाडि नै विश्वको सबैभन्दा अगाडि धानको खेती चीनमा भैसकेको रहेछ । अहिले वैज्ञानिकहरुले धानको उत्पत्तिको श्रेय चीनलाई दिने गरेका छन् ।

चीनको पौराणिक कथामा गुआन यिन देवीले मानव जाति भोकाएको देखेर धान खेतमा गएर आफ्नो स्तन निचोरेर धानमा दुग्ध मिसाएर पौष्टिक आहारको रुप दिएको थियो भन्ने कथन पाइन्छ भने अर्को चिनियाँ बौद्ध पौराणिक कथामा एकपटक चामलकी देवीले आफ्नो शक्ति प्रदर्शन गर्न बुद्धद्वारा आयोजित ठूलो उत्सव भैरहेको बेला चामलकी देवी अचानक गायब भइन् । त्यसपछि त्यहाँ भोजनको संकट आइपर्यो । मानिसहरूसँग खाने भात नहुनाले सबै भोक र हतास अवस्थामा पुगेपछि बुद्ध भगवानले चामलकी देवीलाई खोजेर बोलाएर ल्याउनु भयो भन्ने चिनियाँ किंवदन्ती पाइन्छ ।

त्यसैले चिनियाँ पर्वमा चामलको खाद्यपदार्थ ‘ट्याङ्युआन’ एक प्रकारको मिठाइँ जस्तो बनाएर लालटिन उत्सवहरुमा खाने गरिन्छ । जापानमा, ई.पु. ४०० वर्ष अगाडि दक्षिणी टापु क्युसुमा धान खेती गरिएको प्रमाण पाइएको छ । जापानी पौराणिक कथा अनुसार, एकपटक ठूलो अनिकाल परेको बेला एक ‘इनारी’ देवी आफ्नो हातमा धानको बिटा बोकेर सेतो स्यालमा सवार भएर स्वर्गबाट धर्तीमा झरेकी थिइन् भन्ने पौराणिक कथा अनुसार जापानी बौद्ध र शिन्तो दुबै समुदायले चामलकी देवीको रूपमा “इनारी“ देवीको पुजा गर्ने गर्छन्। इनारी देवीलाई खेतीपातीको रक्षकको रूपमा पुजा गरिन्छ।

थाइल्यान्डमा चामलकी देवी भनेर फोसोप (แม่โพสพ) देवीको पुजा गर्ने गर्छन्, धान काटेपछि थन्काएको कुन्यौमा भिक्षुलाई लगेर पुजापाठ गरेपछि मात्रै धान झार्ने पुरानो थियो । अहिले पनि गाउँ घरमा यो प्रथा भेटिन्छ। यो परम्परा प्रागऐतिहासिक काल देखिनकै थाई संस्कृति हो भन्ने गर्छन् । थाइल्यान्डकै अर्को आदिवासी करेन जातिको एउटा साँस्कृतिक पर्व आउँछ यहाँनेर हिन्दू समुदायको सोह्र श्राद्धमा पितृहरु दिवंगत भएको वार्षिक तिथिमा पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक चलन भए जस्तै करेन जातिको पनि वार्षिक तिथिमा मृतक पितृको नाउँमा चामलको भात डल्लो बनाएर चढाउने परम्परा हुन्छ।

इन्डोनेशियाको बालीमा परम्परागत रूपमा देवी देवताको पुजा गरेपछि चामलको टीका निधारमा र छातीमा लगाउने गरिन्छ ।
कम्बोडियामा डलाम्बोक (चामल सपाट) भनिन्छ। प्रत्येक वर्ष नोभेम्बरमा जल महोत्सवमा सम्पस प्रीह खे (चन्द्र नमस्कार) उत्सवमा चामल उत्सव हुन्छ। भारतवर्षको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा गहुँलाई गोधूम र चामललाई ‘ब्रीही’ भनेर वैदिक कालमा नै चामल मुख्य भोजनको रूपमा आइसकेको जानकारी दिन्छ। वैदिक हिन्दू बौद्ध बोन किराँतका धार्मिक अगुवा बोन्पो धामी, झाँक्री, बिजुवा, गुराउ, फेदङ्वा, लामा, पण्डितहरुलाई कुनै पनि अनुष्ठानमा चामलको अक्षेता नभई नहुने संस्कृतिको एउटा अंग हुन् चामल ।

मानवले भोजन गर्ने बेला चामलको दाना हुन्छ त्यही चामललाई आफ्नो स्टदेवलाई चढाउँदा अक्षेता हुन्छ अर्थात् कहिल्यै क्षय नहुने अक्षेता ।
दसैंमा हामी पहाडीवासीले चामलको टीका जून लगाउने गर्छौं त्यो दक्षिणी भारतीय प्रभावबाट आएको होइन उत्तरी हिमालय संस्कृतिमा रहेकोे यांग्त्जे नदीको ११ हजार वर्ष अगाडिको कृषि युगमा प्रवेश गरेको चामलको प्रभाव हो ।

अचम्मको कुरा चाहिं अहिले हाम्रो पू्र्खा उत्तर मंगोल तिरबाट आएको भन्दै उफ्रिनेहरुले जुन चामलको टीका हिन्दूको हो भन्दै बाहिस्कार गरेको छ तिनले हिन्दूको गरेको होइन न त बौद्धको नै यो त पुरै दक्षिण एसियाली १० हजार वर्ष पुरानो मानव सभ्यतासँग जोडिएको संस्कृतिको विरोध गरिरहेको छ। जसको निहीत उद्देश्य भनेको एशियाली रैथाने संस्कृतिलाई मासेर पश्चिमी संस्कृतिलाई मलजल पुर्याउन पादरीहरुको इमान्दार खेतालोको रूपमा काम गर्दै गरेको ज्यालादारी मजदुरहरु हुन् बाँकी केही होइन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *