मुगु । सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली शुक्रबार बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ प्रस्थान गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको छ ।
प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार सुर्खेतबाट विशेष अनुसन्धान गर्ने वरिष्ठ प्रहरी नायव उपरीक्षक नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को एक टोली अनुसन्धान गर्न मुगु गएको छ । टोली आज राति कालिकोट बसेर शनिबार बिहानै मुगु पुग्ने उनले जानकारी दिए ।
आज मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका थिए । मृतास्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे प्रहरी घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइत गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ ।
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।