एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा साविक विजेता इंग्ल्याण्ड समूहचरणबाटै घर फर्किने सम्भावना बढेको छ । बिहीबार दिउँसो भएको खेलमा श्रीलंकासँग ८ विकेटले पराजीत भएसँगै इंग्ल्याण्ड समूहचरणबाटै बाहिरिने खतरामा पुगेको हो ।
जीतको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले २५.४ ओभरमा २ विकेटको क्षतिमा १ सय ६० रन बनाउँदै जीत निकालेको हो । श्रीलंकालाई जीत दिलाउन पाथुम निस्सान्काले सर्वाधिक ७७ रन बनाउँदा सादेरा सामाराविक्रमाले ६५ र कुशल मन्डीसले ११ रन बनाए ।
इंग्ल्याण्डको लागि डेभिड विलिले दुई विकेट लिए ।
यसअघि बैंगलोरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको इंग्ल्याण्ड ३३.२ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमा समेटिएको थियो । इंग्ल्याण्डलाई जीत दिलाउन बेन स्टोक्सले ४३, जोनी बैस्ट्रोले ३०, डेभिड मलानले २८, मोइन अलीले १५ र डेभिड विलीले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
श्रीलंकाको लागि लाहिरु कुमाराले तीन विकेट लिँदा एन्जेलो माथेस र कसुन राजिथाले समान दुई-दुई तथा महेश थेक्शानाले एक विकेट लिए ।
जीतसँगै श्रीलंका ५ खेलबाट ४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिदा समान खेलबाट दुई अंक जोडेको इंग्ल्याण्ड नवौं स्थानमा रहेको छ ।