च्याम्पियन्स लिगमा बार्सिलोना र सिटी विजयी

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर सिटीले जीत निकालेका छन् । बुधबार राति भएको खेलमा शाख्तर डोनेट्स्कलाई २-१ गोलले हराउँदै बार्सिलोनाले प्रतियोगितामा आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन फेरान टोरेस र फेर्मिन लोपेजले समान एक-एक गोल गरे । शाख्तरको लागि जोर्जी सुडाकोभले एक गोल फर्काए । खेलको २८ औं मिनेटमा लोपेजको पासमा टोरेसले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा टोरेसको पासमा लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

६२ औं मिनेटमा अजारोभीको पासमा सुडाकोभले गोल गर्दै शाख्तरलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भएको हो ।

जीतसँगै बार्सिलोना ३ खेलबाट ९ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको शाख्तर तेस्रो स्थानमा रहेको छ ।

यस्तै गएराति भएको खेलमा समूह ‘जी’को खेलमा म्यानचेस्टर सिटीले योंङ ब्वाइजलाई ३-१ गोलले पराजीत गरेको हो । सिटीलाई जीत दिलाउन इर्लिंङ ब्राउट हालान्डले दुई गोल गर्दा मानुएल अकान्जीले एक गोल गरे ।

जीतसँगै सिटी ३ खेलबाट ९ अंक जोड्दै समूह ‘जी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको योंङ ब्वाइज तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *