तनहुँको बाराही सामुदायिक वनमा ६ लाखको लागतमा ‘टाइगर हिल पार्क’ निर्माण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । पृथ्वी राजमार्गबाट दुई सय मिटर दूरीमा अवस्थित उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ ।

राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा पुग्न गाउँपालिकाको सहयोगमा सिँढी निर्माण गरिएको छ । पर्यटकीय पार्क बनाउन सकिने यहाँ रक क्लाइम्बिङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङसमेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

अध्यक्ष खनालले भने, ‘यहाँ मनोरम ढुङ्गाका आकृति, बेलको रुखमा ग्लास हाउस, मानिसलाई विश्रामका लागि गोल घरपाटी छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रचारप्रसारमा ध्यान दिएका छौँ ।’

नयाँनयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । उनले भने, ‘जिल्लाका विभिन्न ठाउँमा हरित उद्यान बनाउने कार्यालयको वार्षिक कार्यक्रमअनुसार यहाँ बाघको मूर्तिसहितको उद्यान निर्माण गरिएको हो ।’

उक्त कार्यालयको ५ लाख र बाराही सामुदायिक वनको १ लाख २५ हजार गरी ६ लाख २५ हजारको लागतमा उद्यान निर्माण गरिएको हो । यहाँ मिनी चिडियाखाना र वनभोजस्थल पनि बनाउने लक्ष्य छ ।

उक्त कार्यालयले जिल्लाका विभिन्न ठाउँमा हरित पार्क निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयको सहयोगमा भिमाद नगरपालिका–९ मोहोरिया र व्यास नगरपालिका–४ सिमलटारमा हरित पार्क निर्माण गरिएको छ । वडा नम्बर २ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि घरसहितको पार्क बनाइएको छ ।

पार्कलाई हरियाली बनाउन डिभिजन वन कार्यालयको सहयोगमा वृक्षरोपण र सरसफाइ गरिएको छ । उक्त पार्क वरिपरि बहुवर्षीय पारिजात, म्याङ्गोस्टिक, कपुर र धुपीका करिब २ सय बिरुवा रोपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *