अष्ट्रेलियाको कीर्तिमानी जीत

एजेन्सी । एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले कीर्तिमानी जीत निकालेको छ । बुधबार राति सम्पन्न खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई कीर्तिमानी ३ सय ९ रनले पराजीत गरेको हो ।

जीतको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट हुँदै ९० रनमा समेटिएको हो । नेदरल्यान्ड्सको लागि बिक्रम्जित सिंहले २५, तेजा निडामानुरुले १४ र स्कट एडवार्डले १२ रन बनाए ।

अष्ट्रेलियाको लागि एडम जाम्पा ३ ओभरमा ८ रन दिएर ४ विकेट लिए । यस्तै मिट्चेल मार्सले दुई तथा मिट्चेल स्टार्क, जोश हज्लेवुड र प्याट कमिन्सले समान एक-एक विकेट लिए ।

यसअघि दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको थियो । अष्ट्रेलियाको लागि डेभिड वार्नर र ग्लेन म्याक्सवेलले सतक बनाउँदा स्टिभ स्मिथ र मार्नुस लाबुसेनले अर्धसतक बनाए । म्याक्स्वेलले ४० बलमा सतक पूरा गर्दै विश्वकपको इतिहासमा सबैभन्दा छिटो सतक पूरा गर्ने खेलाडी बनेका हुन् । म्याक्स्वेलले ४४ बल खेल्दै ९ चौका र ८ छक्काको मद्दतमा १ सय ६ रन बनाउँदा वार्नरले १ सय ४ रन बनाएका हुन् । उनले ९३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै स्मिथले ७१, लाबुसेनले ६२, जोश इंग्लिसले १४ र प्याट कमिंसले १२ रनको योगदान गरे ।

नेदरल्यान्ड्सको लागि  लोगान भान बिकले १० ओभरमा ७४ रन दिएर ४ विकेट लिँदा बास डे लिडले दुई र आर्यन दत्तले एक विकेट लिएका हुन् ।

जीतसँगै अष्ट्रेलिया ५ खेलबाट ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ भने समान खेलबाट २ अंक जोडेको नेदरल्यान्ड्स दसौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *