बाँकेमा मदिरा विक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

 

नेपालगंज । बाँकेमा आज मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले  सूचना जारी गर्दै मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गर्नुभएको सूचनामा आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको उल्लेख छ ।

सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन र्याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँकेमा बडादसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *