नयाँदिल्लीमा वायु प्रदूषणको दर उच्च

भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन् । वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ ।

तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ । दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । सरकारी तथ्याङ्कअनुसार सोमबार त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ थियो ।

पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम मानिन्छ भने २०१ देखि ३०० सम्म हुनुलाई कमजोर मानिन्छ । त्यसभन्दा बढी मात्रामा पीएम २ दशमलव ५ हुनु भनेको वायुको गुणस्तर अत्यन्त कमजोर हुनु हो भने ५०० भन्दा माथिको मात्रालाई चरम मानिन्छ ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीका अनुसार दिल्लीको वायुको गुणस्तर आगामी केही दिन अझै अत्यन्त कमजोर रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *