कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुरु गर्ने भारतीय विदेशमन्त्रीको भनाई

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन् ।

क्यानाडामा रहेका आफ्ना कूटनीतिज्ञहरू सुरक्षित नरहेका र यदि त्यहाँ प्रगति भए भारत भिसा दिन पुनः सुरु गर्न तयार रहेको बताएका हुन् ।

मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाको भूमिमा शिख नेता हरदीप सिंह निज्जरको हत्यापछाडि भारत सरकारको एजेन्टहरूको हात भएको आरोप लगाएपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण भएको छ । भारतले यो आरोपलाई अस्वीकार गर्दै ‘तर्कहीन र प्रेरित’ भनेको छ ।

दुवै मुलुकले आफ्ना नागरिकलाई एकअर्को देशको यात्रा गर्दा ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका साथै भारतले क्यानाडामा भिसा प्रशोधन केन्द्र सेवाहरू निलम्बन गरेको छ ।

गत साता क्यानाडाले ४१ कूटनीतिज्ञ र उनीहरूसँगै आएका ४२ आश्रितलाई भारतबाट फिर्ता बोलाएको थियो । भारत सरकारले उनीहरूको कूटनीतिक उन्मुक्ति खोस्ने धम्की दिएपछि क्यानाडाले उनीहरूलाई फिर्ता बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *