पाकिस्तानमाथि अफगानिस्तानको शानदार जीत

एजेन्सी । एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानमाथि शानदार जीत निकालेको छ । सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

जीतको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ४९ ओभरमा २ विकेटको क्षतिमा २ सय ८६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । अफगानिस्तानको लागि इब्राहिम जाद्रनले सर्वाधिक ८७ रन बनाए । यस्तै रहमात शाहले ७७, रहमानुल्लाह गुर्बाजले ६५ र हाश्मातुल्ल्ह शाहिदीले ४८ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले समान एक-एक विकेट लिए ।

यसअघि चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो । पाकिस्तानको लागि बाबर अजामले सर्वाधिक ७४ रन बनाउँदा अब्दुल्लाह शाफिकीले ५८ तथा शदाब खान र इफ्तिखर अहमदले समान ४०-४० रन बनाए । यस्तै साउद शकेलले २५ र इमान उल हाकले १७ रनको योगदान गरे ।

अफगानिस्तानको लागि नोर अहमदले तीन विकेट लिँदा नाभिन उल हकले दुई तथा मोहम्मद नाबी र अज्मातुलाह ओमारजाइले समान एक-एक विकेट लिए ।

जीतसँगै अफगानिस्तान ५ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान ४ अंक जोडेको पाकिस्तान पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *