युएईमाथि नेपालको जित

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले युएईलाई हराएको छ । सोमबार दिउँसो भएको खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा लगातार चौथो जित निकालेको हो ।

जीतको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपाललाई जीत दिलाउन आसिफ शेखले अर्धसतक बनाउँदा अन्त्यमा दीपेन्द्र सिंह एरीले विस्फोटक ब्याटिङ गरे । आसिफले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा ६२ रन बनाउँदा कप्तान रोहित पौडेलले ४२ बलमा ४ चौका र एक छक्का हिर्काउँदै ४७ रन जोडे । यस्तै दीपेन्द्र सिंह एरीले अन्त्यमा विस्फोटक ब्याटिङ गर्दै १५ बलमा ६ चौका एक छक्काको मद्दतमा ४० रन जोड्दै नेपाललाई जीत दिलाएका हुन् ।

युएईको लागि मुहामद जावादुल्लाहले दुई विकेट लिँदा अकिफ राजा र जाहोर खानले समान एक-एक विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । युएईको लागि बासील हामेद र भ्रित्या अर्भिन्दले समान ४५-४५ रन बनाउँदा आसिफ खानले १८ र खालिद शाहले १२ रन बनाए ।

नेपालको लागि अविनाश बोहोरा र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा करण केसी र गुलसन झाले समान एक-एक विकेट लिए ।

जीतसँगै नेपाल ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको युएई दुई अंकको साथ दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *