इंग्ल्याण्डमाथि दक्षिण अफ्रिकाको शानदार जीत

एजेन्सी । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले शानदार जीत निकालेको छ । शनिबार राति सम्पन्न खेलमा इंग्ल्याण्डलाई २ सय २९ रनले हराउँदै दक्षिण अफ्रिकाले विश्वकपमा तेस्रो जीत निकालेको हो ।

जीतको लागि ४ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड २२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७० रनमा समेटिएको हो । इंग्ल्याण्डको लागि मार्क वुडले ४३ र गुस अट्किन्सनले ३५ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्याण्डलाई सास्तैमा अलआउट गर्न गेराल्ड कोट्जेले तीन तथा लुन्गी एन्गिदी र मारको जेन्सनले समान दुई-दुई विकेट लिए । यस्तै कागीसो रबडा र केशव महाराजको नाममा एक-एक विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो । दक्षिण अफ्रिकाको लागि हेन्रिच क्लासेनले सतक बनाउँदा रेजा हेन्ड्रिक्स, मारको जेन्सन र रासी भन डेर डुसेनले अर्धसतक बनाए । क्लासेनले ६७ बलमा १२ चौका र ४ छक्काको मद्दतमा १ सय ९ रन बनाउँदा हेन्ड्रिक्सले ८५, जेन्सनले ७५, डुसेनले ६० र  मार्क्रमले ४२ रनको योगदान गरेका हुन् ।

इंग्ल्याण्डको लागि रिक टोप्लेले तीन विकेट लिँदा गुस अट्किन्सन र एडिल रसिदले समान दुई-दुई विकेट लिए ।

जीतसँगै दक्षिण अफ्रिकाले ४ खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट २ अंक जोडेको इंग्ल्याण्ड नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *