स्वास्थ्य सेवा बढाउन दरबन्दी थपिने

गलकोट । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताएका छन् ।

आज बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यका क्षेत्रमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसनिम्ति सरकारले थप दरबन्दीको व्यवस्था गर्ने जानकारी दिए ।

“सबैभन्दा पहिले चिकित्सा सम्बद्ध कर्मचारी दरबन्दी, बढाउने, आधुनिक उपकरणको व्यवस्था गर्ने तथा भौतिक संरचनाले स्वास्थ्य सेवा प्रदायक संस्थालाई सुसज्जित गरेपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेछ,” ३० वर्षअघिको दरबन्दी र पुरानो संरचनाबाटै स्वास्थ्य सेवा प्रवाह भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले भने ।

सरकारले कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रलाई विनियोजन गर्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए । “वर्तमान सरकारको लक्ष्य स्वास्थ्य र शिक्षा निःशुल्क हो”, मन्त्री बस्नेतले भने, “सीमित बजेटमा अधिकतम काम स्वास्थ्य क्षेत्रमा भइरहेको छ, स्वास्थ्यकर्मीलाई इमानदार र लगनशील भएर सेवा प्रवाह गर्न अनुरोध छ, पूर्वाधार र उपकरणमा हामी लगानी गर्छौं ।”

मन्त्री बस्नेतले धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तारका लागि पाँच वटा डायलासिस मेसिन थप गरिएको तथा बागलुङ नगर अस्पताललाई चाँडै आवश्यक उपकरण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा मन्त्री बस्नेतसमक्ष बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकाको स्वास्थ्यका समस्या सेमिटएको मागपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *