एकदिवसीय विश्वकपमा श्रीलंकाको पहिलो जीत

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा श्रीलंकाले पहिलो जीत निकालेको छ । शनिबार दिउँसो भएको खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजीत गरेको हो ।

जीतको लागि २ सय ६३ रनको  विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १० बल अगावै लक्ष्य पूरा गरेको हो  । श्रीलंकाको जीतमा सदिरा समराविक्रमाले सर्वाधिक ९१ रनको योगदान दिए । त्यस्तै, ओपनर पाथुम निशांकाले ५४ रन तथा चारिथ अशलंकाले ४४ रन तथा धनञ्जय डी सिल्भाले ३० रनको योगदान दिए ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्तले ३ तथा पाउल भान मेकरिन तथा कोलिन एकरम्यानले १–१ विकेट लिए ।

यसअघि लखनउमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबे विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले ७० तथा लोगन भानविकले ५९ रन बनाएका थिए । श्रीलंकाका लागि दिल्सान मधुशंका र कासुन रजिथाले ४–४ विकेट लिए ।

जीतसँगै श्रीलंकाले ४ खेलबाट २ अंक जोड्दा नेदरल्यान्ड्सलेपनि समान खेलबाट २ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *