नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको खेलमा हङकङलाई  ७९ रनले हराउँदै नेपाल सिरिजमा लगातार तेस्रो जीत निकाल्दै फाइनलमा पुगेको हो ।

नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो । जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ३४ रनमा मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे ।

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिए ।

यसअघि मुलपानि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा  टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए । त्यस्तै दिपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए । त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए । हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक–एक विकेट लिए ।

अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *