कोशीमा सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गरिने

इटहरी । कोशी प्रदेशमा सांसदहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्ति गरिने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

यसका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई आज (शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयमा सनाखत गर्न भनिएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय थियो ।

तर, समय सकिए पनि शुक्रबार भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेन । शुक्रबार बहुमत सदस्यसहित केदार कार्की आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । तर, कार्कीसहित एमाले नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुख खापुङले आज (शनिबार) सांसदहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने प्रस्ताव गरे । सो प्रस्तावमा उपस्थित सांसदहरूले भने विरोध जनाउँदै शुक्रबार नै मुख्यमन्त्री नियुक्त हुनुपर्ने माग राखेका थिए

मुख्यमन्त्रीमा कांग्रेस संस्थापन पक्ष, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका डा. शेखर कोइराला समूह र नेकपा एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् ।

केही सांसदहरूको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुख खापुङले सनाखत गर्ने तयारी गरेका हुन् । यसैबीच, कोशी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीलाई पछि हट्न राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाले दबाब दिएका छन् ।

‘कार्कीलाई पछाडि हटाउन शीतल निवास र सभापति देउवाबाट पटकपटक दबाब आएको छ,’ डा. कोइरालानिकट कांग्रेसका एक नेताले भने । तर, डा. कोइरालाले भने कोशीमा अगाडि बढेका केदारलाई ‘ब्याक’ नगराउने अडान राखेका छन् । यस्तै, नेपाली कांग्रेसले कोशी प्रदेशको विषयमा कार्यसम्पादन समितिको बैठक राखेको थियो ।

बैठकमा कांग्रेस नेता डा. शेखर कोइराला अनुपस्थित भएपछि कुनै निर्णय नगरी बैठक शनिबारलाई सरेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले ‘डा. कोइराला आउँछुआउँछु’ भनेर बैठकमा नआएको प्रतिक्रिया दिए । उनले यस विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको बताए ।

यता, एमालेको साथमा मुख्यमन्त्रीमा दाबी पेस गरेका केदारलाई नेपाली कांग्रेस कोशी प्रदेश समितिले पनि पार्टीको निर्णयविपरीत नजान आग्रह गरेको छ । कार्कीलाई समर्थन गरेर हस्ताक्षर बुझाउने अन्य आठ जनालाई पनि हस्ताक्षर फिर्ता लिन आग्रह गरिएको पार्टी कोशी प्रदेशका महामन्त्री उमेश थापाले जानकारी दिए । राजाधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *