भारतको पश्चिम बङ्गालमा कोइला खानी भत्किँदा तीन जनाको मृत्यु, कैयौँ फसेको आशङ्का

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रहेको कोइला खानी भत्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ फसेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बेपत्ताको सङ्ख्या करिब १० जना रहेको छ ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब १९७ किलोमिटर उत्तरपश्चिममा पर्ने पश्चिम बर्धमान जिल्लाको रानीगञ्ज क्षेत्रमा रहेको नारायणकुरी कोलियरीभित्र कोइला उत्खननको काम गरिरहेका बेला बुधबार दिउँसो कोइला खानी भत्किएको हो ।

“कोइला खानी भत्किँदा तीन जनाको मृत्यु भएको छ र उनीहरू स्थानीय बासिन्दा रहेको पहिचान भएको छ,” एक प्रहरी अधिकारीले भने ।

उनले भने, “अरू धेरै हराइरहेका हामीलाई जानकारी प्राप्त भएको छ । उनीहरूभित्र फसेको आशङ्का गरिएको छ ।” फसेका कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई दर्जनभन्दा बढी मानिस अवैध रूपमा खानीभित्र पसेको तर दुर्घटनापछि केही मानिस त्यहाँबाट बाहिर निस्कन सफल भएका छन् भने केही भित्र फसेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *