काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत नेपाल आफ्नो चौथो खेलमा साउदी अरेबियासँग पराजित भएको छ । शुक्रबार खेलमा नेपाल साउदी अरेबियासँग ३-२ सेटमा पराजित भएको हो ।
सुगाथडसा इन्डोर स्टेडियममा भएको खेलमा पहिलो सेट साउदीले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि नेपालले दोस्रो सेट २५-२१ ले जित्दै १-१ को बराबरी गरेको थियो । तेस्रो सेट साउदीले २५-२३ ले आफ्नो पक्षमा पार्दै लिँदा चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेल २-२ को बराबरीमा ल्याएको थियो ।
यस्तै पाँचौ सेट १७-१५ ले जित्दै साउदीले खेल आफ्नो पक्षमा पारेको हो । नेपालले अघिल्ला तीन मध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको थियो ।
यसअघि नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको थियो । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल आयोजक श्रीलंकासँग ३-० ले पराजित भएको थियो ।
अब नेपालले उज्वेकिस्तानसँग असोज २७ मा खेल्नेछ । राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।