रावलको प्रश्नः कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे प्रधानमन्त्री किन मौन ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अतिक्रमित भूमि कालापानी भ्रमण गरेकोबारेमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत रावलले यस प्रकरणमा सरकार र प्रधानमन्त्री मौन बसेको भन्दै आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नेपाली जनताबाट लुकाइएका ‘सात सहमति वा सम्झौता’ को परिणाम यस्तै हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘भारतीय प्रधानमन्त्री मोदीले नेपालको कालापानी क्षेत्रमा नेपाल सरकारको जानकारी बिना भ्रमण गरेको समाचारप्रति प्रधानमन्त्री प्रचण्ड र सरकार मौन किन ? के प्रधानमन्त्री प्रचण्डको गत भारत भ्रमणले दुई पक्षीय सम्बन्धमा ‘नयाँ उचाई’ र ‘समझदारी’ थपेको भनेको यसरी नेपालको भौगोलिक अखण्डतामा घात गर्ने भन्ने नै हो ? नेपाली जनताबाट लुकाइएका ’’सात सहमति वा सम्झौता’’ को परिणाम यस्तै हो ? प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारले स्पष्ट गरोस् ।’

बिहीबार मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका थिए । त्यसक्रममा मोदीले जोलिङ्काङमा पूजापाठ गर्नुका साथै कैलाश पर्वतको दर्शनसमेत गरेका थिए । त्यस्तै उनले कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *