नेपाल र लाओसको बराबरी

काठमाडौं । फरवार्ड अन्जन विष्टले कीर्तिमानी गोल गर्दा फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत भएको खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । बिहीबार बेलुकी भएको छनोटको पहिलो लेगमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको लागि अन्जन विष्टले गोल गर्दा लाओसको लागि बौनफाचन बौनकोङले एक गोल गरे । खेलको ३३ औं मिनेटमा बौनकोङले नेपालका दुई डिफेन्डर अनन्त तामाङ र रोहित चन्दलाई बिट गर्दै  गोल गरेर लाओसलाई शुरुवाती अग्रता दिलाएका थिए ।  दोस्रो हाफको दोस्रो मिनेटमै एरिक विष्टको कर्नर क्रसमा अन्जनले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

यस गोलसँगै अन्जनले नेपालको लागि सर्वाधिक १३-१३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका छन् । त्यसपछि खेलको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१- गोलको बराबरीमा सकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *