माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो ।

यसअघि माओवादीलाई मुख्यमन्त्री दिन नसकिने अडान लिएको नेपाली कांग्रेस अब कुनै हालतमा आफ्नो पक्षमा बहुमत नजुटेपछि पछि हट्न बाध्य भएको छ ।

यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल हुनुभएको थियो । अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटिसकेका छन् । गठबन्धनलाई सरकार गठनमा सघाएमा कोशी प्रदेशको सभामुख राप्रपालाई दिन पनि दलहरू सहमत भएका छन् ।

तर राप्रपाले औपचारिक निर्णय गरेको छैन । नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि शुक्रवार साँझसम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिएका छन् । कोशीमा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *