उद्धार आजबाटै, शव केही दिनपछि

काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । शव छिटो ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग सहकार्य गरिरहेको भए पनि शव हस्तान्तरणको प्रक्रिया पूरा नभएकाले ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताइन् । उनले मारिएकाहरूको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शव इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारिन् ।

प्रवक्ता लम्सालले भनिन्, ‘सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रूपमा राखिएको छ, मृतकहरूको शव यथाशीघ्र छिटो नेपाल ल्याउनेगरी हामीले समन्वय र सहकार्य गरिरहेका छौं, इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया सकिनासाथ उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छौं ।’

अहिले जान लागेको विमानमा शव नआउने पनि उनले बताइन् । ‘यसको प्रोटोकल हुन्छ, इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ, ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो,’ प्रवक्ता लम्सालले भनिन्, ‘इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएका कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरूलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन, हामीले अनुरोध गरेका छौं, दबाब दिने अवस्थामा छैनौं ।’

लम्सालले घाइते अवस्थामा रहेका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएको र अन्य दुई जनाको उपचार जारी रहेको पनि बताइन् ।

प्रवक्ता लम्सालका अनुसार, नेपाल फर्कन चाहनेहरूलाई ल्याउन बुधबार राति नै परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा त्यसतर्फ जाने नेपाल एयरलाइन्सको वाइडबडी विमानमा आउन इच्छुक नेपालीहरूका लागि त्यहाँस्थित नेपाली दूतावासले सहजीकरण गर्ने पनि बताइन् ।

‘२ सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहनुभएको छ, नेपाल फर्कन चाहनुहुनेहरूका लागि नेपाल एयरलाइन्सको २ सय ५० सिट क्षमता भएको वाइडबडी विमान बुधबार राति नै इजरायल प्रस्थान गर्दै छ, इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरूलाई नेपाली दूतावासले सहजीकरण गर्ने व्यहोरा पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु,’ विमान त्यसतर्फ जानुअघि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भनिन् ।

उता, इजरायलबाट व्यावसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चार्टर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीको उद्धार गर्दै छ । सोही आधारमा कोही व्यावसायिक उडानमार्फत आउन खोजेमा त्यसका लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो ।

बुधबार मन्त्रिपरिषद् बैठकले व्यावसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले बताए । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *