नेपाली नागरिकको शव फिर्ताका लागि सहजीकरण गरिदिन इजरायली विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री साउदको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र इजरायलका विदेशमन्त्री एली कोहेनबीच टेलिफोनमा कुराकानी भएको छ । मंगलबार दिउँसो परराष्ट्रमन्त्री साउदले समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गरेका हुन् । परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए ।

‘उहाँले १० नेपालीको मृत्युको खबरले हामीहरूलाई स्तब्ध बनाएको छ। उहाँहरू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो । दुःखद घटनाले गर्दा उहाँहरूका घरपरिवारका सदस्यहरू दुःखी र चिन्तित हुनुहुन्छ ।’

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरे ।

‘महामहिमज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जतिसक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाइले पनि घरपरिवारका सदस्यमा झन् पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु । त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्नेछ ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे ।

उनले आक्रमण पछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि अनुरोध गरे । मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानपिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।

‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ । यद्यपि, उहाँहरूमध्ये धेरै जना बंकरमा बसिरहनुभएको जानकारी प्राप्त भएको छ,’ संवादका क्रममा उनले भने, ‘उहाँहरू खाना र पानीजस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ । यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ ।’

बंकरमा बसेका केही नागरिकहरूले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी दिए । मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए ।

‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरूको विवरण संकलन गरिरहेका छौँ । पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने छ,’ उनले भने । इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरूको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्यलाभको कामना गरे । उनले इजरायल अहिले कठिन मोडमा रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *