राष्ट्रसंघ र चीन भ्रमण सफलः प्रधानमन्त्री(संसदमा संबोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा यसपटक नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर चीनको भ्रमणसमेत गरी फर्किएपछि आइतबार सदनलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले दुवै भ्रमण सफल भएको बताएका हुन् ।

प्रधानमन्त्रीले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए । उनले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भाव अभिवृद्धि भएको समेत उल्लेख गरे ।

‘मेरो चीन भ्रमण चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा गरेको नेपाल भ्रमणपछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । कोभिड–१९ महमामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई सुदृढ गरेको छ’, उनले भने ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन सहयोग प्राप्त भएको जानकारी दिँदै उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।

“चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातयात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्ने मैले राखेको धारणाप्रति उहाँहरुले चीनको पूर्ण समर्थन रहेको बताउनुभयो”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय भेटमा उत्तरी सीमा क्षेत्रमा प्रशारण लाइन निर्माण, सीमा क्षेत्रमा रहेको भूभागमा केन्द्रीय विद्युत प्रशारण प्रणालीबाट विद्युत् पुर्याउन नसकिने स्थानमा सौर्य प्रणालीबाट विद्युत् जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका तथा परम्परागत सीमा नाकाको पुनः सञ्चालन, सीमा नाकामा नेपालमा पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार निर्माणमा छलफल भएको सदनलाई जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *