माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । विभिन्न चरणमा भएका चुनावका नतिजालाई राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले स्वीकार्दै ५४ प्रतिशत मत पाएका विजयी मोहम्मद मुइज्जुलाई बधाई दिएका छन् ।

१७ नोभेम्बरमा नयाँ राष्ट्रपतिको शपथग्रहण हुनेछ। सोलिहले त्यसबेलासम्म कामचलाउ राष्ट्रपतिका रूपमा काम गर्नेछन् । सन् २०१८ यता शक्तिमा रहेका माल्दिभिअन डेमोक्रेटिक पार्टी (एमडिपी)का सोलिहले मालेसँग बलियो साँस्कृतिक र आर्थिक सम्बन्ध रहेको भारतसँगको सम्बन्ध मजबुत बनाएका थिए । प्रगतिशील गठबन्धनका ४५ वर्षीय मइज्जु चीनसँगको निकट सम्बन्धका पक्षधर हुन् ।

गत दशकमा दिल्लीले माल्दिभ्सलाई दुईवटा हेलिकप्टर र एउटा सानो आकारको विमान दिएको थियो । सन् २०२१ मा माल्दिभ्सको सेनाले ती विमानको सञ्चालन र मर्मतसम्हारका लागि ७५ जना भारतीय सैनिकहरू आफ्नो देशमा रहेको जनाएको थियो । त्यसलगत्तै विपक्षीले ती भारतीय सुरक्षाकर्मीलाई माल्दिभ्स छाड्न भनेर ‘भारत आउट’ अभियान सुरु गरेको थियो ।

सोलिहअघि सन् २०१३ देखि सन् २०१८ बीचमा प्रोगेसिभ पार्टी पीपीएमका अब्दुल्लाह यामीन राष्ट्रपति थिए । उनले आफ्नो कार्यकालमा माल्दिभ्सलाई चीनसँग निकट बनाउनुका साथै राष्ट्रपति सी जिन्पिङको बेल्ट एन्ड रोड अवधारणामा आफ्नो देशलाई संलग्न गराएका थिए । यामीन भ्रस्टाचारमा दोषी ठहरिँदै हाल ११ वर्षको जेल सजाय भोगिरहेका छन् ।

सन् १९७८ मा जम्मिएका मइज्जुले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इञ्जिनियरिङमा पीएचडी गरेका छन् । सन् २०१२ मा आवासमन्त्री भएर उनी राजनीतिमा प्रवेश गरेका थिए । यामीन शक्तिमा आएपछि समेत उनले आफ्नो मन्त्रीपद कायम राख्दै केही ठूला परियोजनाहरू अगाडि बढाए ।

त्यसमध्ये एउटा २० करोड अमेरिकी डलर बराबरको पुल समेत पर्छ। त्यसले राजधानी मालेलाई भिन्न टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्छ । उनले सन् २०२१ मा मालेको मेयरको निर्वाचन जिते र त्यो उक्त पदमा पीपीएमको पहिलो जित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *