भयानक सामाजिक विद्रोह निम्त्याउने बाटोमा सरकार !

काठमाडौं । अमेरिका र चीनमा गरी करिव दुई साता लामो विदेश भ्रमण गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा ४० बुँदे उपलब्धि आफैं पढेर सुनाए । प्रधानमन्त्रीले चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको, भ्रमण सफल भएको, चीनले आफूलाई महत्व दिएकोदेखि पोखरा विमानस्थलमा चीनबाट हुने उडानसम्मका उपलब्धि भएको बताएका थिए । ४० बुँदा पढ्दा लाग्छ कि नेपालले ठूलै उपलब्धि हात पारेको छ ।

प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणबारे यसरी फेहरिस्त सुनाइरहँदा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा भने सरकारका कामकारबाहीप्रति असन्तुष्टि पोख्दै थिए । शनिबार दिउँसो सिन्धुलीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सरकार सरकार उल्टो गतिमा हिँडेको आरोप लगाए । सरकारले थुन्नुपर्नेलाई नथुन्ने, नथुन्नु पर्नेलाई थुन्ने गरेको, संघीयता कार्यान्वयन गर्न सरकारले वेवास्ता गरेको, मुख्यमन्त्रीलाई जिल्लाको सीडीओ र मालपोतको हाकिमभन्दा तल राखिएको भन्दै आक्रोश पोखे ।

प्रधानमन्त्रीले विदेशबाट फर्किदा ४० बुँदे उपलब्धि लिएर आएको बताएपनि प्रधानमन्त्री विदेश भ्रमणमा रहँदा शिक्षा विधेयकको विरोधमा शिक्षक आन्दोलन, कुटपिटको विरोधमा चिकित्सक आन्दोलन दैनिकजसो भइरहे । यसरी देशमा अराजकता बढेको, मुलुक आर्थिक संकटमा फस्दै गएको र आवश्यकता अनुसार गम्भीर कदम नचाले मुलुकमा जेसुकै हुने भन्दै शनिबारै साँझ अर्को सत्ताघटक दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझायो ।

उसले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखापरेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको थियो । मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानाकर्षणपत्रमा भनिएको छ,‘जनतामा ब्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवान्छित तत्वहरु हाम्रो समाजमा जातीय, धार्मिक–साँस्कृतिक द्वन्द्व मच्चाउने समेत लागि परेका छन् । देशमा देखिएका संकटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने अवस्था छ । त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं ।’ एकीकृत समाजवादीले सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको बताएको छ । यही कारण श्रमजीवी, मजदुर तथा गरिबको जीवन कष्टकर हुँदै गएको भन्दै एकीकृत समाजवादीले उद्योगी व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्न नसकेर निराशा थपिएको बताएको छ । पत्रमा भनिएको छ, ‘यी समस्या आजै सिर्जना भएका होइनन्, तापनि यसको सम्बोधन गर्नु र आम जनतालाई आश्वस्त पार्नु सरकारको दायित्व हो ।’

विपक्षी नेकपा एमालेले त यो सरकारको विकल्प खोज्नुपर्ने बताइरहेको थियो । तर सत्तारुढ दलबाट अर्थतन्त्रका कारण अवस्था गम्भीर रहेको भन्दै ध्यानाकर्षणपत्र बुझाएको केही घण्टामै सरकारले जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्यासमा फेरि एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले शनिबार रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो । एक महिनाको अवधिमा ग्यासको मूल्य भारी रुपमा बढाइएको यो दोस्रो पटक हो। यसअघि भदौ १५ गते निगमले २३५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढाएको थियो । त्यस्तै निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त यो सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । सरकारको भनाई र काम गराई देख्दा जनतासमेत ओलीको भनाईमा समर्थन जनाउन थालेका छन् । नत्र सत्ताघटक अर्को दलले अर्थतन्त्रका कारण मुलुकको अवस्था गम्भीर रहेको भन्दै ध्यानाकर्षणपत्र बुझाएको केही घण्टामा इन्धनमा अस्वाभाविक ढंगले सरकारले किन मूल्यबृद्धि गर्यो त ?

एकजना सामाजिक संजाल प्रयोगकर्ता भद्र शर्मा यो भयानक सामाजिक विद्रोह निम्त्याउने बाटो भएको बताउँछन् । उनी भन्छन्, ‘राज्य चलाउन खाडीका कामदारले पठाएको रेमिटेन्समा ५ प्रतिशत कर लगाइएको छ । प्रधानमन्त्री आधा महिना अमेरिका र चीन घुमेर फर्किए । फिर्ती सवारी भएको केही घण्टामा इन्धनमा मूल्यवृद्धि भएको घोषणा हुन्छ, त्यो पनि दशैंको मुखमा । देश अब कि त वृद्धाश्रम बन्छ नभए भयानक सामाजिक विद्रोह टाढा छैन ।’

त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहकार टीका ढकाल पनि इन्धनको मूल्यबृद्धि असन्तुष्ट छन् । उनी भन्छन्,‘मुठ्ठीभर शासकलाई स्वर्ग होला, जनताका लागि झनै कष्टकर हुँदैछ दैनिक जीवन ! खाना पकाउने ग्यास एक सिलिन्डरको २१ सय १० रुपैयाँ, डिजेल लिटरको १७९ । दुई हप्ता विदेश बरालिएर जनताको ढाड सेक्न काठमाडौं उत्रेका निरोले दशैंको अवसरमा यस्तो बेसुरा बाँसुरी बजाए ।’

प्राध्यापक डा. युवराज संग्रौलाले भने सरकारलाई रसियासँग सम्झौता गरी इन्धन ल्याउन सुझाव दिएका छन् । उनी भन्छन्, ‘हामीसँग तेलपदार्थ छैन । तेल किनेर कमिसन कमाउने र विजुली बेचेर कमिसन कमाउनेको राज भयो । (१) तत्काल रसियासँग सम्झौता गरेर सस्तोमा तेल र ग्यास ल्याउने व्यवस्था गर। (२) विजुली पहिला देशभर लैजाउ र जनतालाई बिजुली प्रयोग गर्न सिकाउ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *