चीन भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फर्किंदै

छेन्दु । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन्। तिब्बतको छेन्दुबाट उनी आज काठमाडौका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट शुक्रबार बिहानको उडानमार्फत छेन्दु पुगेका थिए। उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरेका थिए। छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरेका थिए।

प्रधानमन्त्री दाहालले हिजो साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए। आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गरेका थिए । बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए।

प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।

उनको भ्रमण दलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *