आठदिने यँयाः जात्रा

काठमाडौं । मेहनति किसानको उत्पादनलाई अनुमतिबेगर लिएमा वा चोरी गरेमा जात्रा गरेर बेइज्जत गरिन्छ र देवताका राजालाई पनि बाँकी राखिँदैन भन्ने सन्देश दिने जात्रा नै ‘यँया जात्रा’ अर्थात् इन्द्रजात्रा हो ।

धेरैलाई इन्द्रजात्रा भन्ने बित्तिकै एक दिनको मात्र लाग्न सक्छ । वास्तवमा इन्द्रजात्रा आठ दिनको हुने गर्छ ।

यो जात्रा भाद्र शुक्ल द्वादशीदेखि भाद्र कृष्ण चतुर्दशीसम्म मनाइन्छ । यसपालि गत ९ असोजमा ठड्याइएको यःसिंद्यो (लिंगो) उठाएदेखि सुरु भएको जात्रा १६ असोजमा ढालिएपछि मात्र समाप्त हुनेछ ।

यो यँयाः जात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका र नेवारहरूको बाहुल्यता रहेका स्थानमा लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

यस समयमा काठमाडौंको वसन्तपुर मरु, लगन, जैसीदेवल, प्याफल, नरदेवी, न्ह्योखा, बांगेमुढा, असन, बालकुमारी, इन्द्रचोकमा रथ तान्ने समयमा विशाल जनसमुदाय सहभागी भई घर–घरमा उल्लासपूर्ण वातावरणमा जात्रा मनाइन्छ ।

किंवदन्तीमा यँयाः जात्रा

स्वर्गलोकका राजा इन्द्र आफ्नी आमाको आदेशानुसार चथाः स्वं (पारिजातको फूल) खोज्न ऐरावत हात्तीका साथ मत्र्यलोक झर्छन् । उनी मत्र्यलोकको केन्द्रका रूपमा रहेको नेपालमा आएर किसानको बारीमा सुगन्धले युक्त सुन्दर पारिजातको फूल देखेर टिप्न थाले ।

फलफूल चोरेको यहाँका स्थानीयले थाहा पाएपछि उनलाई पक्री चोरेका फलफूलसहित सबैले देख्ने ठाउँ (दोबाटो चौबाटो)मा बाँधेर राखे । काठमाडौंको वसन्तपुर र भक्तपुरका टोलटोलमा उभ्याइएको काठको इन्द्रको प्रतीक जसलाई नेपाल भाषामा यमःद्यः भनिन्छ । त्यही यमःद्यः नै इन्द्र हुन् र स्वर्गलोगका राजा यमःद्यः अर्थात् इन्द्रलाई बाँधेर जात्रा गरिएकाले नै कालान्तरमा यसलाई इन्द्रजात्रा भन्न थालिएको हो ।

परापूर्व कालमा तीनलोक अर्थात् तीन राज्य थिए । आर्यहरूको राज्य स्वर्गलोक, असुरहरूको राज्य पाताल लोक र मानवहरूको राज्य मत्र्यलोक ।

मत्र्यलोकमा मातृसत्ता थियो । जसका हर्ताकर्ता कुमारी हुन् । यसर्थ, इन्द्रजात्रामा कुमारीको विशेष पूजा अर्चना गरिन्छ र इन्द्रलाई बाँधेको अवलोकनमा आउने गरिन्छ । मत्र्यलोकका रक्षक भने भैरव हुन् । यसर्थ, भैरव नेवारहरूका पितृदेवका रूपमा र आराध्यदेवका रूपमा पुजिने गरिन्छ ।

यही भएर इन्द्रजात्रामा कुमारी र भैरवकै विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

इन्द्रलाई बाँधेर राखेपछि पटकपटक ऐरावत हात्ती नेपाल मण्डलमा याँ मता (याँ भनेको आकाश हो भने मता भनेको दीप हो) अर्थात् आकाश दीपसहित बालेर खोज्न आउने गरिन्छ । काठमाडौंमा ऐरावत हात्ती अर्थात् पुलुकिसी दिनदिनै निकाल्ने गरिन्छ भने भक्तपुरमा अन्तिम दिनमा (यसपालि असोज १६ बुधबार) मात्र पुलुकिसी ल्याइने गरिन्छ ।

इन्द्रलाई बाँधिराखेको हेर्न पाताल लोकका असुर राजा पनि आउने प्रथा भक्तपुरमा अहिले पनि बाँकी नै रहेको छ । उनी अर्थात् मुपात्र इन्द्रलाई बाँधेको पाँचौं दिनदेखि साँझपख हेर्न आउने गर्छन् भन्ने विश्वार रहिआएको छ । सुरक्षागार्ड (डिचा)सहित आउने मुपात्रले इन्द्रलाई तरवारले प्रहार गर्ने र जिस्काउनेसम्म गर्छन् । देवराज इन्द्रलाई जिस्काउन आउने मुपात्रलाई ऐरावत हात्तीले देखेमा मार्नसम्म पाउने भन्ने भनाइ भक्तपुरमा यथावत रहेको छ ।

काठमाडौंको इन्द्रजात्रा

इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यमःद्यः उनै इन्द्र हुन् । छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि इन्द्रकी आमा बसुन्धरा डाकिनी (राक्षस)को भेष धारण गरी मत्र्यलोक आइन् । अनि, तिनले शीत र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्नेगरी छोरा देवराजलाई स्वर्गमा भगाएर लगिन् भन्ने किंवदन्ती पाइन्छ । उनले छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकी थिइन् । पुलुकिसी त्यही हात्ती हो । इन्द्रजात्रामा बसुन्धरा रुने र छोरा खोज्न आउँदा हुस्सुले छोप्ने भएकाले यसबेला पानी पर्ने गर्छ । यसलाई यन्यापुन्हीको झरी पनि भन्ने गरिन्छ । बसुन्धराले इन्द्रलाई लैजाँदा हुस्सुले छोपिने भएकाले यहीबेलाबाट काठमाडौंमा हुस्सु लाग्ने गर्छ भन्ने भनाइ छ ।

न्द्रजात्रा भनिए पनि स्थानीय बोलीमा यो पर्व ‘यँयाः’ नामले प्रचलित छ । ‘यँ’ ले इन्द्र र याःले जात्रा, पर्वको अर्थ दिन्छ । तर, यो जात्रा वैदिक देवता इन्द्र वा कुनै पात्रविशेषसँग मात्र सीमित छैन ।

वैदिक साहित्यसँग मेल नखाने इन्द्रजात्रा

इन्द्रसम्बन्धी धेरै उल्लेख भएको साहित्य ऋग्वेद हो, जसमा यी प्रसंग पाइँदैनन् । वैदिक साहित्यनुसार इन्द्रकी आमाको नाम ‘अदिती’ हो तर इन्द्रजात्राका प्रसंगमा आमाको नाम ‘दागिं’ उल्लेख छ । अदितीलाई पनि देवताकै रूपमा लिइन्छ तर यहाँ ‘दागिं’को चित्रण राक्षसका रूपमा छ । अदितीको चित्रण मृत्युसँग गरिएको पाइँदैन तर ‘दागिं’ मृतकलाई स्वर्गमा लैजाने पात्रका रूपमा लिइन्छ ।

सामान्यतया इन्द्रजात्राको चर्चा गर्नेबेला स्वर्गका राजा इन्द्रकी आमालाई बसुन्धरा व्रत बस्न इच्छा भएको र त्यसका लागि चाहिने पारिजातको फूल लिन इन्द्रलाई पृथ्वीमा पठाएको कथा हालिन्छ । तर, यो कथा वैदिक साहित्यसँग भने मेल खाँदैन ।

‘यमःद्यः’

इन्द्रजात्राका बेला उभ्याइने देवताको नाम ‘यमःद्यः’ हो । आठ दिनसम्म ‘यमःद्यः’ टोलटोलमा ठड्याएर राखिन्छ । सुरुवातमा सादा काठ मात्र ठड्याइने गरिएकामा पछि केही आकृतिसमेत कुँद्ने परम्परा आएको देखिन्छ ।

समयक्रममा एउटा काठमा अर्को काठ जोडेर दुई हातजस्तो पनि बनाइयो । ठूलो–सानो नापका यी ‘यमःद्यः’को आकृति काठमाडौं र भक्तपुरमा उस्तैउस्तै देखिन्छ । अहिले ‘इन्द्रध्वजा’ भनी व्याख्या गरिएको यःसिं वा लिंगो वास्तवमा टोलटोलमा ठड्याइने ‘यमःद्यः’ नै हुन् ।

हिजोआज हनुमानढोका दरबार क्षेत्रमा ठूलो तामझामका बिच ठड्याइने यो लिंगो प्राचीनकालदेखि नभएर राजा पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाहको समयबाट मात्रै सुरू भएको हो । त्यसअघि यो लिंगो चिकंमुगल टोलको अट्को नारायणस्थानमा गाडिन्थ्यो ।

इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बिचमा अग्लो डबली बनाइ चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ । इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाइ प्रदर्शनमा राखिन्छ ।

भक्तपुरमा भने यमःद्यः (इन्द्र)को प्रतीक लामो काठमा डोरीले बाँधेर राख्ने गरिन्छ ।

इन्द्रजात्रामा प्रमुख आकर्षण कुमारीको रथयात्रा हो । कुमारी रथयात्रामा सबैको ध्यान गए पनि रथयात्रा अघिअघि गणेश र भैरव देवताको रथ तानिन्छ । वास्तवमा यो रथजात्रा कुनै विशेष उत्सव नभएर जीवित देवी कुमारीको नगरका प्रमुखले सांस्कृतिक उत्सव अवलोकन र इन्द्रलाई बाँधिएको हेर्नु हो ।

आकाश भैरव

नेवारहरूले सबैभन्दा बढी पुज्ने देवता हुन्, भैरव । आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ । साथै, धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।

इन्द्रजात्रामा बौद्ध धर्मालम्बी

बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भूवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ यँयाः जात्रामा गर्ने गर्छन् । उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौं नगर बस्तीबाहिरका बाटा हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात् भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजा अर्चना गर्दै दियो दान गर्ने परम्परा छ । सो मूर्ति सम्वत् ३८९ मा राजा मानदेवले उनकी आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए । यसै दिनदेखि घरघरमा दलुचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दियो) झुन्ड्याइ इन्द्रको नाममा बत्ती बाल्ने चलन छ । इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा गर्दै तल्लो टोल र माथिल्लो टोलमा परिक्रमा गराइन्छ ।

नेपाल मण्डलमा परापूर्वकालमा प्रकृतिको पूजा हुन्थ्यो । पछि बौद्ध धर्मको प्रभाव प¥यो । लिच्छवीकालपछि मल्लकालमा आएर बौद्धधर्मलाई विस्थापित गरी हिन्दू धर्मको प्रभाव बढ्यो । हिन्दू धर्मको प्रभाव बढाउनकै लागि शासकहरूले बौद्ध धर्म मान्ने गुरु अर्थात् शाक्यहरूलाई नै कुमारी, गणेश र भैरव बनाउन लगेको भने भनाइ रहेको छ ।

इन्द्रजात्राको अन्तिम दिन

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पु¥याएपछि इन्द्रजात्रा सकिन्छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि इन्द्रजात्रा समाप्त हुन्छ ।

भक्तपुरमा भने यस पर्वको प्रमुख आकर्षण अन्तिम दिन हुने गर्छ । स्थानीय लाकोलाछें टोलबाट पुलुकिसी ल्याई भक्तपुर परिक्रमा गरी मुपात्र खोज्ने गरिन्छ । भक्तपुरको टौमढी, दरबार क्षेत्र र दतात्रयमा अन्तिम दिन पुलुकिसी हेर्न ठेलम ठेल हुनेगरी भीड लाग्ने गर्छ ।राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *