नेपाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच ४४ औं संस्करणको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। गत भदौ २४ गते सुरू भएको संयुक्त सैन्य अभ्यास शुक्रबार सम्पन्न भएको हो ।

नेपाली सेना र संयुक्त राज्य अमेरिकका सेनाका ४२ जनाको सहभागिता रहेको उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान भएको थियो ।

शुक्रबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले सहभागीहरूलाई अभ्यासका दौरान सिकेका सीपहरूलाई आफ्नो पेसागत क्षमता विकासमा सदुपयोग गर्न सुझाव दिए ।

उनले तालिमलगायतका क्षेत्रहरूमा पुर्याउँदै आएको सहयोग र सहकार्यका लागि संयुक्त राज्य अमेरिकाको सेनालाई धन्यवाद ज्ञापन गरे । त्यस अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्प्सनले सफलतापूर्वक अभ्यास सम्पन्न गर्ने दुवै देशका सहभागीहरूलाई बधाई ज्ञापन गरे ।

संयुक्त अभ्यास समापन समारोहमा नेपाली सेनाका रथी, अधिकृतहरूका साथै अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *