योगाभ्यासको विरोध किन ?

काठमाडौं । भनिन्छ योग आफैंमा स्वरुपान्तरणको प्रमाणित वैज्ञानिक कुरा हो । यसलाई प्रयोगमा ल्याउँदा मान्छेमा स्वजागरण, आत्मनुशासन, काम गर्ने ऊर्जा, जाँगर, सकारात्मक सोच र आत्मविश्वास बढ्छ । त्यसैले गृह मन्त्रालयले मातहतका कार्यालयका सबै कर्मचारीलाई हरेक बिहान कार्यालयमा १५ मिनेट योगाभ्यास गर्न परिपत्र गरेको छ । तर गृहको परिपत्रलाई लिएर सुरुमै विरोध सुरु भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न गृह मन्त्रालयले बुधबार परिपत्र गरेको छ ।

मन्त्रालयले मन्त्रालय र उपत्यकाअन्तर्गतका विभाग कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक दिन बिहान १० बजेदेखि दश बजेर १५ मिनेटसम्म अनिवार्यरूपमा योगाभ्यास÷ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन भनेको छ । साथै, अन्य कर्मचारीलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोहीअनुरूप योग/ध्यान गर्ने व्यवस्था र वातावरण बनाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ । अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य तहका कर्मचारीका लागिसमेत निकट भविष्यमै प्रशिक्षण प्रदान गरिने योजना रहेको मन्त्रालयले जनाएको छ । यसअघि गृहमन्त्री श्रेष्ठले सबै कार्यालय र प्रहरी युनिटमा योगाभ्यास सुरु गर्ने बताइसकेका थिए । उनले सरकारी कार्यालयको काम प्रभावकारी बनाउन पनि नियमित योगाभ्यास जरुरी रहेको बताउँदै आएका छन् । यो निर्णयले हाम्रा काम र सेवालाई नै नतिजामुखी बनाउन सघाउने गृहमन्त्रीको अपेक्षा छ ।

केहीले यो अभियानलाई सकारात्मक रुपमा लिएपनि कतिपयले भने यसको विरोध गरेका छन् । नेकपा एमालेका नेता डा. भीम रावलले योग कार्यालय बाहिर गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्र सेवक कर्मचारीले प्रत्येक क्षण देश र जनताको लागि लगाउन आवश्यक रहेको बेला कार्यालय समयमा ’योग’ गराउनु राज्य सत्ता, समय र श्रोतको दुरूपयोग हुनुका साथै गैरकानूनी काम हो । योग गर्ने कर्मचारी संख्या र समयको हिसाब गर्दा कति कार्य घण्टा खर्च हुन्छ, हेरौं । यो कसलाई खुसी पार्न गरिदै छ ? योग र व्यायाम व्यक्तिले कार्यालय समय बाहिर गर्नुपर्छ।’

राजनीतिक विश्लेषक डम्बर खतिवडा पनि कार्यालयमा योग गर्ने निर्णयको विरोधमा उत्रिएका छन् । उनले सरकारको यो निर्णयलाई मूर्खतापूर्ण भनेका छन् । उनी भन्छन्, ‘योग–ध्यान बिहानै घरघरमा कम्तीमा ३० मिनेट गर्न उचित हो–मूर्ख निर्णयकर्ताहरु । कार्यालय समय र पोशाकमा १५ मिनेट गरि टोपल्नुको कुनै अर्थ छैन । यस्ता हावा न चावाका निर्णय गर्ने सोच कस्ता मान्छेको दिमागमा कसरी फुर्छ ? योग र ध्यानलाई जीवनशैली बनाउने हो क्या लालफित्ताशाहीको अंग हैन।’ योगले मानिसको सकारात्मक सोच विकास गर्छ भनिन्छ । सरकारी कर्मचारीले सेवाग्राहीलाई हैरानी दिने गरेका गुनासो दैनिक सुनिने गरेको छ । कतै योगाभ्यासले सकारात्मक सोच विकास गरी काम गराईमा पनि परिवर्तन आउनसक्छ कि भनेर मन्त्रालयले यो अभियान सुरु गर्न लागेको बताएको छ । मन्त्रालयले भर्खर यसलाई अभियानको रुपमा सुरु गर्ने घोषणा गरेको छ । उसले कति बजेसम्म कार्यालय आइपुग्ने, अनि योगाभ्यास गरेर कतिबजे काममा बस्ने भनेर नियम पनि बनाउँछ होला । तर हामीले भने सरकारले गरेको जुनसुकै कुरालाई सुरुमै शंकाको दृष्टिले हेर्ने गरेका छौं । त्यसैले योगाभ्यासको यो अभियानलाई सकारात्मकरुपमा हेर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *