पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार प्रसारमा लैजान्छौंः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले अवलम्बन गरेका नीति तथा आदर्शलाई जनताकाबीच लैजाने ‘समाजवाद जागरण अभियान’ महत्वपूर्ण हुने बताएका छन् ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने अभियानमा पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार–प्रसार गरिने बताए ।

समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तरक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने बताउँदै उनले पार्टीका वैचारिक दृष्टिकोणलाई आधारभूत तहसम्म स्थापित गर्न यात्राले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले सामाजिक न्याय, समानता, आत्मनिर्भर अर्थतन्त्रको विशेषता भएको वैज्ञानिक समाजवाद कार्यान्वयन गरी मुलुकमा समृद्धि कायम गर्न सकिने बताए ।

अभियानमा आधुनिक कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा सन्देश प्रवाह गरिने भन्दै उनले यस कार्यक्रमले युवालाई समाजवादी क्रान्तिका लागि जोड्ने बताए ।

फरक प्रसंगमा अध्यक्ष नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताए । उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन् ।

उनले भने, भने, ‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । यस सन्दर्भमा सरकारको ध्यान हामीपनि आकर्षित गराउन चाहन्छौँ। संसद चल्दाखेरी संसदमा आवाज उठाउने हो। अरु बेलामा सरकारको ध्यान हामीले विभिन्न माध्यमबाट आकर्षित गर्ने हो।’

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अभियानमा तय गरिएका कार्यक्रमको जानकारी दिँदै भने,’अभियानका नाममा हामी जनताको घरदैलोमा पुग्नेछौँ र जनताको दुःख, सुखमा साथ दिनेछौँ । सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो । अभियान यही असोज २९ सुर्खेतमा पुगेर सभा गरी सम्पन्न हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *