भारतीय कम्पनीले पाएको फुकोट कर्णालीको इआइए स्वीकृत हुँदै

काठमाडौं। भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई विकासको जिम्मा दिएको फुकोट कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृतिको प्रक्रिया अघि बढेको छ।

विद्युत उत्पादन कम्पनीले लिमिटेडले अध्ययन गरेको आयोजना इआइए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाएको थियो। मन्त्रालयले स्वीकृति दिनु अघि सार्वजनिक सूचना निकालेर आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ७ दिनभित्र राय/सुझाव पेस गर्न आग्रह गरिएको छ।

४८० मेगावाट जडित क्षमता भएको प्रस्तावित आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्‍नी त्रिवेणी गाउँपालिका र खाडाचक्र नगरपालिका भएर बग्‍ने कर्णालीमा नदीमा निर्माण हुनेछ।

यो अर्ध-जलाशय प्रकृतिको हुनेछ। आयोजनाका लागि चाहिने जग्गा लगभग अधिग्रहण भइसकेको छ। आयोजना निर्माण थालेको ५ वर्षमा उत्पादन थाल्ने लक्ष्य छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय कम्पनीसँग सम्झौता गरिएको थियो। भारतीय कम्पनी एनएचपीसीलाई ५१ प्रतिशत सेयर दिइएको छ भने ४९ प्रतिशत सेयर विद्युत उत्पादन कम्पनीको नाममा रहनेछ।

गत जेठ १७ गते आयोजना विकासका लागि द्धिपक्षीय सम्झौता (एमओयु) भएको हो। आयोजना निर्माणका लागि करिब ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। लगानी भारतीय कम्पनीले जुटाउनेछ। १२ महिनामा लगानी जुटाइसक्ने र १४ महिनामा विद्युत उत्पादन कम्पनी र एनएचपीसीबीच संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ।

यो जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली भारत निर्यात हुनेछ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्न लागेको ४०० केभी प्रसारणलाइनमार्फत भारत लैजाने योजना छ।

नेपालले यो आयोजनाबाट २१.९ प्रतिशत (करिब १०५ मेगावाट ) बिजुली नि:शुल्क पाउनेछ। यो आयोजनाले हिउँदमा ७४४.७९ गिगावाट घण्टा र वर्खायाममा १७०३.८ गिगावाट घण्टा उत्पादन गर्न सक्छ। वार्षिक सरदर २४४७.८८ गिगावाट घण्टा उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *