सबै बेथितिको अन्त्य ८४ को निर्वाचनले गर्नेछः सभापति लामिछाने

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । काभे्रपलाञ्चोकको बनेपामा बिहीबार आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरु अघि बढेको जिकिर गरे ।

‘हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरुका काममा साथ दिन चाहान्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ’ उनले भने ।

उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए । सभापति लामिछानेले भने, ‘अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस् ।’

फरक प्रसङ्गमा उनले बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए । ‘हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौँ, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन, जनता पनि दुःखी बन्नुपर्दैन, उहाँहरुले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउनुहुन्छ ।’

रास्वपाले भ्रष्टाचारलगायत आपाराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए । ‘हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ’, उनले भने ।

कार्यक्रममा रास्वपा सांसद मनिष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढङ्गले अध्ययन गरी समाधान गर्दै जाने बताए । सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्ला अध्यक्ष प्रवीण ढकाललागायतले नगर भेलालाई शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *