शिक्षक आन्दोलन उपनिवेशी ज्ञानकाविरुद्ध होकि आफ्नो स्वार्थका लागि ?

डा. युवराज संग्रौला ।
दुई सय वर्षअघि एसियाली राष्ट्रका सोच, विचार र विज्ञानमाथि उपनिवेशको कहर शुरु भयो । युरोपेली बौद्धिक पुनर्जागरणको पृष्ठभुमिमा बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल, बेल्जियम, जर्मनी, नेदरल्याण्डले थाहा पाए एसिया, अफ्रिका र ल्याटिन अमेरिका लुटेर धनी हुन सकिन्छ । अनि चरम ढंगले लुटे । लुटिरहे र लुटिरहन चाहन्थे । यही नियतलाई साकार पार्न जन्मियो ‘मानसिक उपनिवेश।’

१. शिक्षा बन्यो मानसिक उपनिवेशको सहज माध्यम वा उपाय । उपनिवेशिहरुले शिक्षाको संरचना बदले, उपनिवेशमा । आफ्नो भाषामा पढाउन थाले । आफ्नो इतिहास घोकाए । आफ्नो समाजशास्त्र लादे । आफनो साहित्य थोपरे । अनि हामीलाई उनीहरुको विचार, दर्शन र पद्धतिका दास बनाए ।

२. बर्तमान विधेकमा विज्ञान, गणित र कम्प्यूटर अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने लेखिएको रहेछ। किन ? के हामी नेपालीलाई बिज्ञान, गणित र कम्प्पुटर मातृभाषामा राष्ट्रभाषामा बुझ्ने अधिकार छैन ? यही हो शिक्षा माथिको उपनिवेशवादको उदाहरण । विदेशी सहायताको दुर्ब्यसनले ग्रस्त शिक्षाका ठेकेदार र ठुलठुला शिक्षा व्यापारीले बनाएको योजना हो, यो । माफिया पूँजीवादी देशभक्त हुँदैन । माफिया पूँजीवादको सेवा गर्ने जागिरे पनि देशभक्त हुँदैन । माफिया पूँजीवादी पैसाले पैसा आर्जन गर्ने ‘अति शोषक’ वर्गको प्रतिनिधि हो, जसमा चुर्लुम्म डुबेको छ अहिलेको नेपाली राजनीति । चीन, थाइल्यान्ड, कोरिया, जापानले विज्ञान, गणित र कम्पुटर उनीहरुको आफ्नै भाषामा पढाउँछन् त, किन होला ? किनभने उनीहरुले शिक्षालाई जनसमृद्धि, राष्ट्रिय अर्थतन्त्रको विकास र सामाजिक रूपान्तरणको उपाय हो भन्ने बुझेका छन् । उनीहरु आफ्नो इतिहास, आफ्नो संस्कृति र आफनो स्वतन्त्र अस्तित्व सहितको सभ्यतामा विश्वास गर्छन् ।

३. हाम्रो शिक्षामा किन हाम्रो धरातलको अर्थशास्त्रको पढाइ हुंदैन ? किन विद्यार्थीलाइ माल्थस र एडाम स्मिथका सिद्धान्त मात्र घोकाइन्छ ? किनकी भौतिक उपनिवेश गयो तर मानसिक उपनिवेश कायम रह्यो । किन अंग्रेजी माध्यममा पढाउने स्कुल ठूलो र राम्रो भयो ? किनभने मानसिक उपनिवेश कायम रह्यो । किन कृषि प्रविधि, ग्रामिण अर्थतन्त्र र हाम्रो सांस्कृतिक विविधतामा आधारित समाजशास्त्र, हाम्रो भूगोल र पर्यावरणमा आधारित मानवशास्त्र अध्यापन हंदैन ? किन सेक्सपियर, ड्रुकहाइम, एडाम स्मिथ, काम्टे, मालेनिविस्की, किपलिङ्ग, इम्यानुएल कान्ट, अरिस्टोटल, जोन लक, बेन्थमका सिद्धांत मात्र अध्यापन गराइन्छ ? किनभने हाम्रो शिक्षा अहिले पनि उपनिवेशी ट्यामप्लेटमा खडा भएको छ। यो शिक्षाले रोजगार, कृषि सीप, उद्यम, हाम्रो समाजको अन्तरविरोध र परिवर्तनको गति र प्रवृत्ति, हाम्रो गाउँको अर्थतन्त्रका गतिशक्ति र प्रेरक तत्वको ज्ञान दिंदैन । यसले प्रमाणपत्र धारी जागिरे तयार गर्छ।

४. शिक्षाले समाजको विकासलाई माध्यम प्रदान गर्छ किनभने यसले समाजलाई गति प्रदान गर्छ । हिजो उपनिवेशमा रैथाने संस्कृति, धर्म, सीप, प्रविधि र विज्ञानलाई मासेर उपनिवेशि सोच निर्माण गर्नु थियो त्यसैले युरोपेली इतिहास, सेतो–जातको सर्वोच्चता र क्रिश्चियन धर्मको खेती गर्न सहज हुने शिक्षा शुरु गरियो । आजपनि त्यही छ । हाम्रो शारीर नेपाली छ दिमाग युरोपेली सोचको फोटोकपी । त्यसैले हामी ‘धनी र साम्राज्यवाद’ का केन्द्रलाई ह्वाइट हाउस भन्छौं । धनीले गर्ने अपराधलाई ‘ह्वाइट कलर क्राइम“ र ताट पल्टिँदा ‘ब्लाक लिस्ट’ भन्छौं । हामी राम्रो घोषणालाई म्यागना कार्टा भन्छौ र हाम्रा वौद्धिक ज्ञान लाई परम्पर ।

५. आज हामी नवउपनिवेशको कैदमा छौं । त्यसैले हाम्रो स्कुल राम्रो हुन अंग्रेजी नाम चाहिन्छ । राम्रो विद्यार्थी राम्रो हुन अंग्रेजी बोल्ने हुनु पर्छ । राम्रो लभ लाई रोमियो जुलिएट भन्नू पर्छ। फेमेनिजम तीजमा रक्सी खाएर अभद्र हुनुभयो । सभ्यता घुस खाएर धनी हुनुभयो । सुन्दर हुनु भनेको सेक्सी हुनुभयो । विद्वान हुनु भनेको विश्व बैंकको जागिरे ।

के शिक्षा र गुरुहरुको आन्दोलनले उपनिवेशी ज्ञानका विरुद्ध पनि आन्दोलन गरेको हो ? के गुरुहरुले देशको समृद्धिको पक्षमा पनि आन्दोलन गरेको हो ? तपाईंहरुलाइ आफ्नो सम्मानका लागि आन्दोलन गर्ने अधिकार छ, तर देशको समृद्धिको सरोकार नराखी आफ्नो मात्र सम्मान खोज्दै हुनु हुन्छ भने तपाईंहरुको आन्दोलन गुरुहरुको आन्दोलन होइन मास्टरको आन्दोलन हुनेछ र त्यो झोलेहरुको स्वार्थी विद्रोह हुनेछ ।

आज देशले शिक्षामा “आत्मनिर्णयको अधिकार“ खोजेको छ। हाम्रो शिक्षा विदेशी इतिहास, युरोपेली अर्थशास्त्र, युरोपेली समाजशास्त्र, पश्चिमी साहित्यको अध्यन होइन, हाम्रो ग्रामिण कृषिको सीप विकास, मातृभाषाको विकास र प्रयोग, जीवन उपयोगी उद्यम, हाम्रो धरातलीय अर्तशास्त्र, विज्ञान र प्रविधिको उन्नयन र नवप्रवर्तन तर्फ मुखरित हुनुपर्छ। हामीले राजनीतिको झोला फ्याँक्नु पर्छ कित शिक्षकको जागिर । वर्तमान विधेयक नवउपनिवेशी शिक्षाको पक्षमा बनेको देखियो, भलै नियतमा शंका नगरौं । हाम्रो शिक्षाको दुई उद्देश्य हुनुपर्छ। (१) उत्पादनमुखी पूँजीको विकासद्वारा देशको आर्थिक संमृद्धि सुनिश्चित गर्ने वैज्ञानिक चेतनायुक्त जनशक्तिको निर्माण र (२) राष्ट्रको आत्मनिर्णयको अधिकार प्रयोग गर्न सक्ने देशभक्त राजनीतिक, आर्थिक, सामाजिक तथा न्यायिक विज्ञहरुको उत्पादन। गुरुहरुको आन्दोलनको लक्ष्य यी कुरा भएनन् भने यो आन्दोलन झोलेहरुको आन्दोलनमा सकिने छ । र यस आन्दोलनले केही थान देशघाती नेता जन्माउने छ। तर नेपाली समाजको रूपान्तरणको चक्षु भयो भने एउटा नयाँ इतिहासको बीउ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *